आइसीपी निर्माणको काम सुस्त



नेपाल समाचारपत्र, विराटनगर
मोरङको बुधनगरमा भारतले निर्माण गरिदिने एकीकृत जाँच भन्सार बिन्दू (आइसीपी) निर्माणको काम सुस्त हुँदा निर्माण प्रक्रिया लम्बिने देखिएको छ ।
भारततर्फ दुई वर्ष अघि नै आईसीपी निर्माण भई सञ्चालनको अवस्थामा छ । नेपालतर्फ पनि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको भए पनि डेढ वर्षमा निर्माणको काम ५२ प्रतिशत मात्र पँरा भएको छ ।

आईसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले बुधनगरमा आईसीपी निर्माणको काम अघि बढाएको थियो । गत फेब्रुअरी १ देखि आईसीपी निर्माणको काम शुरु भएको थियो । आईसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आईसीपीको निर्माणको काम गरिरहेको छ ।

ठेकेदार कम्पनीका सञ्चालक अवधेशकुमार साहले नेपालतर्फको बुधनगरमा आईसीपीको भौतिक निर्माणको काम भई रहेको बताए । उनले आईसीपीका लागि तयार गरिने भवन, घेराबेरा गर्ने लगायतका काम भई रहेको जानकारी दिए । ‘भारत र नेपालबीच भएको द्विपक्षीय सहमतिअनुसार आईसीपीको काम अघि बढिसकेको छ,’ ठेकेदार साहले भने–‘आईसीपीको निर्माणको काम ५२ प्रतिशत पँरा भएको छ।’

निर्माण कम्पनीलाई आईसीपी निर्माणको जिम्मा दुई वर्षको दिएको थियो । तर, डेढ वर्ष पँरा हुँदा अहिलेसम्म ५२ प्रतिशत मात्र निर्माणको काम पँरा भएको अवस्था छ । जसका कारण तोकिएको समयमा आईसीपी निर्माणको काम पँरा नहुने देखिन्छ ।

पहिलो चरणमा आईसीपी जाने लिंकरोड निर्माणको काम र आईसीपी हाताभित्र भौतिक संरचना निर्माणको काम अहिले भई रहेको छ । संयुक्त रूपमा नेपाल–भारत दुवैतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको हुनेछ । आईसीपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम शुरु भएको छ ।

लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर–दक्षिणी राजमार्गसँग जोडिनेछ । आईसीपीको निर्माणमा भारतीय ठेकेदार पक्षले प्रयोग गर्न ल्याउने सामग्री र उपकरण सबै भन्सार महशुल र राजस्व छुटको सुविधा नेपाल सरकारले प्रदान गरेको छ ।

भारततर्फ निर्मित आईसीपी गत कात्तिकबाट सञ्चालनमा ल्याएपछि नेपाली व्यवसायी र क्लियरिङ एजेन्टलाई सुविधा भन्दा पनि झण्झट थपिएको गुनासो नेपाली पक्षले गर्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहराले विराटनगर भन्सारबाट आईसीपी भवनसम्म पुग्न टाढा र असुविधा पर्ने बताए ।

बोहराले भने–‘जोगवनीको आईसीपी हामीलाई टाढा भएको छ, जसले गर्दा आयात र निर्यातमा झन्झटका साथै खर्चसमेत थपिदिएको छ ।’ उनले जोगवनीको आईसीपीमा मालसामान राख्दा दैनिक ६ सय शुल्क लाग्ने भएकाले एकै दिनमा सबै काम पँरा गर्न सकिएन भने आयात गर्ने सामाग्रीको व्ययभार थपिने बताए ।

प्रतिक्रिया दिनुहोस्