साली कसको भेनाको सिंगल

0
Shares

धेरै सातापछि यो साता नेपाली फिल्मले सिंगल रिलिजको अवसर पाएको छ। शुक्रबार साली कसको भेनाको नामक फिल्मले सिंगल रिलिज पाएको हो।
गत सोमबार राजधानीको बिग सिनेमामा प्रिमियर गरी तारिफ पाएको फिल्म भद्र भुजेलको निर्देशनमा बनेको छ। प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मालगायतका कलाकार सामेल भएका थिए। मगर संस्कृति, परम्परा तथा पारिवारिक कथालाई प्रस्तुत गरिएको कमेडी फिल्मले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ। प्रसाद श्रेष्ठको प्रस्तुति तथा रामप्रसाद श्रेष्ठ, सुशीलगोपाल न्याछ्यो, काजीमान श्रेष्ठ (विशाल), कमला भट्टराई र मुक्ति अधिकारीको निर्माणमा निर्मित फिल्ममा पुष्प आचार्यको लेखन, प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत, दीर्घ गुरुङको छायांकन रहेको छ। फिल्ममा विल्सनविक्रम राई, रजनी गुरुङ, बुद्धि तामाङ, मरिष्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, प्रिया रिजाल, देव सागर, रवि गिरी, वीरेन श्रेष्ठलगायतका कलाकार प्रमुख भूमिकामा छन्। शुक्रबार फिल्मले सामान्य व्यापार गरेको छ भने शनिबारबाट पिकअप लिने आशा गरिएको छ। शुक्रबार रिलिजमा आएको साली कसको भेनाकोसँगै हाल सिने बजारमा नाइँ नभन्नु ल–५, रोज र रामकहानी चलिरहेको छ। नाइँ नभन्नु ल–५ चौथो सातामा प्रवेश गरेको छ भने रोज र रामकहानी दोस्रो सातामा प्रवेश गरेका छन्।