महिलामात्रहोईन पुरुषपनि बेचिएका छन्ः सदस्य अन्सारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले नेपालमा दिगो विकासमा लैङ्गिक समानताका लागि राज्यका तीन तह कडाईका साथ प्रस्तुतहुनुपर्ने भन्दै नेपालबाट महिलामात्र बेचिएको नभई पुरुषपनि बेचिएको बताउनुभयो ।
महिला कानुन र विकास मञ्चले आयोजना गरेको ‘महिला विरुद्ध हुने सवै प्रकारको भेद्भाव उन्मुलन गर्ने महासन्धी’ का मुद्धाहरुको सन्दर्भमा भएको छायाँ प्रतिवेदन बारेको छलफलका क्रममा बोल्दै अन्सारीले उक्त भनाई राख्नुभएको हो ।

उहाँले नेपालमा रहेको महिला र पुरुषबीच समान अधिकार भनिएतापनि व्यावहारिकतामा भने दुईबीचको ठूलो खाडल रहेको र कुनै पनि महिला होस् वा पुरुष घरेलु कामदारको रुपमा विदेश गएको भएपनि बेचिएको नै हो भन्दै महिलालाई यौनसँग जोडेर प्रचारमा आउनु दुःखद् भएको तर्क प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धीमा नेपाल सरकारको तर्फबाट वर्तमान समयमा नेपालमा भएका महिलाका मुद्धाहरुलाई समावेश गरी त्यसमा रहेका चुनौती तथा समस्या समाधानका उपायहरुलाई समेटी बुझाउने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै यु एन ओमेनका राष्ट्रिय उपप्रतिनिधि गीताञ्जली सिंहले लैङ्गिक समानता र महिला शसक्तिकरणका लागि संस्थाले खेल्नुपर्ने जस्तोसुकै भूमिका खेल्न तयार रहेको बताउँदै छायाँ प्रतिवेदनमा महिलाको यथार्थ समस्याहरुलाई समेटी प्रतिवेदन बुझाईनेमा आफ्नो संस्था ढुक्क रहेको बताउनुभयो ।

त्यस्तै सामुदायिक सेवा केन्द्र नेपालका अध्यक्ष तुलसालता अमात्यले सातै प्रदेशबाट संकलित सुझावमा महिला हिंसा, मानब बेचविखन, छाउपडी, कुप्रथा जस्ता कुरालाई उक्त प्रतिवेदनमा समेटी सभ्य समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा वोल्दै आयोजक संस्थाका निर्देशक सविन श्रेष्ठले संयुक्त राष्ट्रि संघिय समितिमा बुझाउने प्रतिवेदन र छायाँ प्रतिवेदनले नेपालमा रहेको महिला सम्बन्धीका यावत समस्याहरु उजागर हुने बताउनुभयो । त्यसको बारेमा आगामि अक्टोवर २३ मा प्रस्तुती हुने भएकाले आवश्यक सुझावहरु संकलनको कार्य द्रुतगतिमा अघि वढाइएको बताउनुभएको छ । निर्देशक श्रेष्ठका अनुसार ७० वटा संस्थाहरुको संयुक्त सहकार्यमा उक्त छायाँ प्रतिवेदन तयार गरीएको जानकारी गराउनुभएको छ ।

त्यस्तै संकल्प नेपालको अध्यक्ष लिली थापाले सामाजिक, सांस्कृतिक, धार्मिक तथा कुसस्कारका माध्यममबाट महिलालाई भेदभाव गरिएको बताउनुभएको छ । नेपालमा महिलाहरु सूचनाका हकबाट टाढा रहेको भन्दै ग्रामिण स्तरमा सूचना मुलक कार्यक्रम गर्दै अघि वढ्नुपर्नेमा जोड दिनुभएको छ ।

संस्थाका अध्यक्ष मिरा ढुङ्गानाले बर्तमान ऐनले महिला उत्थानका लागि विषेश प्रकारका कानुनहरु समावेश गरिएकाले आगामी दिनमा तीनै तहमा महिलाको सहभागिताको साथमा असमानता र अपराधिक कार्यहरुको अन्त्य हुने बताउनुभएको छ ।