सडक अबरुद्ध हुँदा मुक्तिनाथ पुगेका तीर्थयात्री र पर्यटक अलपत्र

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ ।

सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो ।

दर्जनौँ ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । म्याग्दीको रुप्से र मुस्ताङको घाँसादेखि लेते सडक खण्डको धेरै ठाउँमा अवरुद्ध भएकोे छ । ७६ किलोमिटरको उक्त सडकमा गाडीबाट यात्रा गर्न सर्वसाधारणलाई तीन दिनसम्म लागेको स्थानीयबासीको गुनासो छ । यसैबीच सडक अवरुद्ध बनेपछि अलपत्र बनेका भारतीय तीर्थयात्रीलाई बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।प्रभु एयरको हेलिकप्टरले दानादेखि बेनी ल्याएर करीब एक सय भारतीय तीर्थयात्रीको उद्धार गरेकोे दानाबाट स्थानीयवासी इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या भएकाले कृषक निराश बनेका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि ल्याइएका डोजर परिचालन गरेर सडक मर्मतको काम गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले केही दिनलाग्ने आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताउनुभयो । पहिरोले लेते खोला नजिकै करीब दश मिटर सडक बगाएको छ भने बेलिब्रिज कटानको जोखिममा परेको छ ।

कुन्जोमा स्वास्थचौकी तथा आमा समूहको भवन पूर्णरूपमा क्षति पुगेको छ । थासाङ गाउँपालिका–२ सौरुमा बाढीले दश घरमा क्षति र्पुयाएको गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताउनुभयो ।

शुक्रबार भने मुस्ताङ्गमा पर्यटक अलपत्र परेको सुचना नरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । तल्लो लेतेमा नदीले बगाएको २ किलोमिटर सडक मर्मत गरिएको छ भने मुस्ताङ्ग र म्याग्दीको सिमानामा पर्ने काभ्रेको भीरमा बगाएको सडक मर्मतका लागि समय लाग्ने उनले बताए । उत्तर दक्षिण कालीगण्डकी करिडोर आयोजनाले मर्मतको काम गर्ने र दुई दिन सम्ममा सडक यातयात सुचारु हुने उनले जानकारी दिए ।