जिल्ला स्तरीय निबन्ध तथा वक्तृत्वकलाका बिजेता विद्यार्थीहरु पुरस्कृत

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
राष्ट्रिय बाल दिवस २०७५ को अवसरमा भक्तपुरमा जिल्ला स्तरीय निबन्ध तथा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । शिक्षा समन्वय समितिद्धारा आयोजित जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेधा माध्यमिक विद्यालय तेखापुखुकी रञ्जिता खत्री पहिलो भएकी हुन् । खत्रीले चाँगुनारायण नगरपालिकास्थित देवी माध्यमिक विद्यालयका भुपेन्द्र मगरलाई पछिपार्दै पहिलो स्थान हात पारेकी हुन् ।

 

जिल्लाका सबै आठ स्रोतकेन्द्रबाट छनौट भएर आएका आठ प्रतियोगिमध्ये सुर्यविनायक नगरपालिका–२ स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयका गोपाल सत्यालले तेश्रो स्थान हांसिल गरे । त्यसैगरी जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा एभरेष्ट ई. स्कूल ब्यासीकी आर्या प्रसाई प्रथम, सरस्वती मा.वि. थाकलथामककी तृष्णा अधिकारी दोश्रो तथा चाँगुनारायण मावि न्यौपानेगाउँकी सन्ध्या युंगेलले तेश्रो स्थान हात पारिन । दुवै प्रतियोगिताका विजयी छात्रछात्रालाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, शिक्षा समन्वय अधिकारी हरि दहालले नगद पुरस्कार, प्रमाण पत्र प्रदान गर्नुभयो ।

 

प्रतियोगितामा पहिलो हुनेलाई दुई हजार पाँच सय, दोश्रोलाई दुई हजार र तेश्रोलाई एक हजार पाँच सय रुपियाँ पुरस्कार दिइएको छ । शिक्षा समन्वय अधिकारी हरि दहालको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रतियोगिता मुल्यांकन समितिका संयोजक महेन्द्र गोपाल कर्माचार्य, प्रमुख जिल्ला अधिकारी भट्ट, निबन्धमा पहिलो हुने रञ्जिता खत्री र बक्तृत्वकलामा पहिलो हुने आर्या प्रसाई लगायतले ठुलो भविश्य बोकेका बालबालिकाले भोलीको मुलुक चलाउँने भएकाले आजैदेखि त्यसै अनुसारको मेहनत गरेर अघि बढ्नुपर्ने बताउँनु भएको थियो ।