दार्चुलामा संविधान दिवस भव्यरुपमा मनाइने

0
Shares

किरन धामी, दार्चुला ।
संविधान दिवसलाई दार्चुलामा भव्यरुपमा मनाइने भएको छ । असोज २, ३ र ४ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा भव्यताका साथ मनाउन जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । नगर सरसफाई, प्रभात फेरी, साँस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शनी, प्रवर्चन गोष्ठी लगायत विविध कार्यक्रम गरि भव्यताका साथ संविधान दिवस मनाइने भएको छ ।

 

दिवसको अवसरमा असोज २ गते विहान ७ बजे देखि ९ बजे सम्म नगर सरसफाई, दिउसो आ–आफ्नो कार्यालय परिसर सरसफाई र साँझ दिपावली गर्ने तथा बेलुकी ५ बजे जिल्ला अस्पताल दार्चुलामा विरामी भई भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको छ । यस्तै असोज ३ गते संविधान दिवस जिल्ला समारोह समितिको कार्यक्रममा प्रभात फेरी, साँस्कृतिक कार्यक्रम तथा जिल्ला समारोह समितिको सम्पुर्ण कार्यक्रम व्यवस्थापनको कार्य महाकाली नगरपालिकाको कार्यालयले गर्ने गरी निर्णय गरीएको छ । असोज ४ गते जिल्ला स्थित सबै सकारी कार्यालयहरु एवं स्थानीय तहहरुले वृक्षारोपण कार्यक्रम गर्ने तथा कार्यक्रमको संयोजन डिभिजन वन कार्यालय दार्चुलाले गर्ने निर्णय भएको छ ।

 

संविधान दिवसलाई भव्यरुपमा मनाउन जिल्ला मुल समारोह समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख करविर कार्कीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला मुल समारोह समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला सदरमुकाम स्थित सबै सरकारी कार्यालयका प्रमुखहरु स्थानीय तह, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, गैर सरकारी संस्था महासंघ जिल्ला अध्यक्ष, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, सदरमुकाम स्थित क्याम्पस प्रमुख, यसैगरी सदरमुकाम स्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नागरिक समाज बुद्धिजीवी प्रमुख रहेका छन् ।