सल्यानका १० स्थानीय तहमा कर्मचारी अभाव

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानका १० स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीको कामकाज प्रभावित भएको छ । जिल्लाका स्थानीय तहमा करिब दुई सय कर्मचारी अपुग रहेका छन ।

कर्मचारी अभावमा सेवाप्रवाहमा समस्या भएको जनप्रतिनिधिले जनाएका छन । सरकारले गाउँपालिकामा ३० र नगरपालिकामा जनसंख्या अनुसार ५० देखि ७० कर्मचारीको व्यवस्था हुने भने पनि दरबन्दी पूर्ति भएको छैन ।

स्थानीय तहमा प्रशासकीय अधिकृत, लेखा अधिकृत, नायब सुब्बा र वडा सचिबको अभाव देखिएको छ । कर्मचारी नभएकाले कामकाजमा ढिलासुस्ती बढ्दै गएको बन्गाड कुपिण्डे नगरपालिका–१२, निगालचुलाका दिलाराम पुनले बताए । ‘सरकारले सिंहदरबारको सेवा गाउँमै दिने भनिए पनि नारामै सीमित छ,’ उनले भने, ‘कर्मचारी अभाव भन्दै काममा ढिलासुस्ती हुने गरेको छ ।’

चाँदेकरेन्जीका कमारो बुढाथोकीले कर्मचारी अभावमा कामका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार बैंकिङ कामकाजका लागि पनि सदरमुकाम जानुपर्ने बाध्यता कायमै छ । दरबन्दी अनुसार कर्मचारी र बजेट अभावमा स्थानीयले आशा गरेअनुसारको विकास तथा सेवा पाउन नसकेको उनले गुनासो गरे । १५ वडाको शारदा नगरपालिकामा ७० कर्मचारीको दरबन्दी भए पनि ५० जनामात्र कार्यरत छन । शारदा नगरपालीकाका चार वडा सचिवविहीन रहेको नगरप्रमुख सुरेश अधिकारीले बताए ।

कर्मचारी अभावमा दुई वडामा एउटै सचिवले काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । तीनजना इन्जिनियर हुनुपर्नेमा एक जनामात्र कार्यरत रहेकाले विकासका काम प्रभावित भएको उनले बताए । ‘कर्मचारीको अभावकै कारण गत वर्ष समयमै काम गर्न नसक्दा तीन करोड रुपैयाँ फिर्ता भयो,’ उनले भने, ‘कर्मचारीको व्यवस्थाका लागि माथिल्ला निकायमा ध्यानाकर्षण गराइएको छ ।’

बाग्चौर नगरपालिकाकामा पनि ६६ जनाको दरबन्दी हो, तर ४० जनामात्र कार्यरत छन । अधिकृत, लेखापाल, वडा सचिव, इन्जिनियरलगायतको अभाव रहेको नगरपालिकाले जनाएको छ । सचिव नभएकाले वडाको काम नगरपालिकामै गर्दै आइएको छ । करारमा भर्ना गरेका केही कर्मचारीले काम धानिरहेको नगरप्रमुख लोकमान बुढाथोकीले बताए ।

बन्गाड कुपिण्डे नगरपालिकामा १२ वडामा एक जनामात्र सचिव कार्यरत छन  । अन्य कार्यालयबाट आएका कर्मचारीले सचिवको काम गर्दै आएका छन । नगरमा सात जनामात्र स्थायी कर्मचारी छन । त्यस्तै त्रिवेणी गाउँपालिकामा सात वडामा १८ कर्मचारी चाहिनेमा १२ जनामात्र कार्यरत छन । ९ जना प्राविधिकको दरबन्दी रहेकोमा ६ जनाले मात्र कामकाज धानिरहेका छन । २३ जनाको दरबन्दी रहेको ढोडचौर गाउँपालिकामा ५ जनामात्र कर्मचारी कार्यरत रहेको अध्यक्ष चित्रबहादुर चलाउनेले बताए ।

उनका अनुसार गाउँपालिकामा पाँच वडामा दुई जनामात्र सचिव छन । केही कर्मचारी करारमा राखिए पनि कामकाज प्रभावित हुन सकेको छैन । त्यस्तै कालीमाटी गाउँपालिकामा १९ र कुमाख गाउँपालिकामा १० जना कर्मचारीको अभाव छ ।