पहिरो पिडितलाई राहत वितरण गरिने

0
Shares

किरन धामी, दार्चुला ।
गत साउन ९ गतेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएका शैल्यशिखर नगरपालिका वडा नम्बर २ रौतउडा बस्ने नरेश भनिने प्रजापति ओडको परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको छ । विहीबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले प्रकोप पिडित उद्दार र राहत सम्बन्धी मापदण्ड (छैठौं संशोधन) २०७४ बमोजिम उनको परिवारलाई रु १ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मृतक ओडकी पत्नी जानकी ओडले प्रहरी सर्जमिन मुचुल्का, घटना स्थल लाश जाँच मुचुल्का सहित आवश्यक कागजपत्रहरु संलग्न राखि राहत पाँउ भनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन पेश गरेको आधारमा राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त आचार्यले बताए । उक्त दिन गएको पहिरोले शैल्यशिखर वडा नम्बर ९ गोकुलेश्वर स्थित मान सिह बिकको कुखुरा फर्ममा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला भरी वर्षातको समयमा वर्षा, बाढी, पहिरो जस्ता विपदबाट घर जग्गा, जमिन, व्यवसाय, खाद्यान्न, भाँडाकुँडा, लुगाकपडा सरसामान क्षति भएका १० परिवार र व्यक्तिलाई वितरण गरिएको ८१ हजार ५ सय राहत रकम समर्थन गर्ने निर्णय समेत निर्णय भएको छ ।

यसैगरी जिल्लाको विभिन्न स्थानमा यस वर्षको अविरल वर्षा, बाढी, पहिरो तथा अन्य विपदका घटनाहरुबाट भएको क्षति, जोखिम न्युनिकरण गरि प्रकोप व्यवस्थापन लगायतको कार्यमा सहयोग गर्ने सबै स्थानिय तह, जिल्ला स्थित सुरक्षा निकायहरु तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दार्चुला लगायत विपदको समयमा सहयोग गर्ने सबैलाई जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यसै अनुरुप सहयोग पु¥याउने सम्बद्ध सबैलाई जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकले विपद जोखिम न्युनीकरणका लागिपुर्व सुचना प्रणाली अन्तर्गत एस.एम.एस प्रणाली मार्फत जल तथा मौसम विज्ञान विभागबाट प्रेषित वर्षा पुर्वानुमान बाढी पुर्वानुमान बुलेटिनलाई जिल्ला विपद व्यवस्थापन संग सम्बन्धित सबै सरोकारवाला निकायहरुमा सुचना जानकारी प्रवाहमा नमस्ते सिमकार्ड, डाटा कार्ड, एस.एम.एस. शुल्क २०७५ श्रावण देखि असोज मसान्त सम्म उपलब्ध गराई सहयोग गरेकोमा जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट सामुदायिक ग्रामिण विकास समाज नेपाल र जिल्लामा संचालित पहल कार्यक्रमलाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकमा जिल्ला स्थित राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्की, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, सुरक्षा निकायका प्रमुख सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।