हवाई जहाज चलाउने सपना नगरपालिकाले पुरा गरिदिँदै

0
Shares

धनवीर दाहाल, रुकुम ।
आठबिसकोट नगरपालिका १० का गोबिन्द के.सीको सानै उमेरदेखी हवाई जहाज चलाउने सपना थियो । प्राथमिक कक्षामा पढ्दै गर्दा पनि उनले आकाशमा हवाइजहाज देख्न बित्तिकै आफु पनि त्यही चलाउने सोच बनाउँथे । तर आर्थिक अवस्था कमजोर भएकोले उनको परिवारले त्यस्तो आँट गर्ने कुरै भएन ।

सानै कक्षा देखी पढाईमा लगनसिलता भएका के.सीले अन्ततः नगरपालिकाको सहयोगमा हवाई जहाज चलाउन सक्ने सपना बिपनामा परिणत गर्दै छन् । के.सी र वडा नं ५ का ललित भण्डारीलाई आठबिसकोट नगरपालिकाको सहयोगमा पाइलट पढ्न फिलिपिन्स गएका हुन् । शैक्षिक ऋण तथा छात्रवृत्तिबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार भण्डारी र के.सी त्यसतर्फ लागेका हुन् ।

शैक्षिक ऋण दिएर प्राविधिक शिक्षा पढाउने र स्थानीय स्तरबाटै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले शैक्षिक ऋण सम्बन्धी कार्यविधि २०७५ निर्माण गरि कार्यान्वयन गर्न थालेको आठविसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । उक्त कार्यविधि अनुसार विज्ञान विषयमा प्लस टु पास गरेर पाइलट पढ्नका लागि प्रवेश परीक्षा समेत पास गरेका स्थानीय दुई युवालाई ऋण दिएर अध्ययनका लागि पठाईएको उहाँले जानकारी दिनुभयो । आफूहरुको पारिवारिक स्थितिले अध्ययन गर्न नसक्ने अवस्था हुँदाहुँदै पनि नगरपालिकाले ऋण दिएपछि उनीहरु खुसी भएका छन् ।

नगरपालिकाबाट उनीहरु दुईजनाले जनही ५० लाख रकम ऋण प्राप्त गरेका छन् । नगरपालिकाले शैक्षिक ऋण र छात्रवृत्तिका लागि कार्यविधि अनुसार वर्षभरी पुग्ने गरी बजेट विनियोजन गरेको जनाएको छ । छात्रवृत्ति मार्फत यसअघि ५ जनाले स्टाफ नर्स र सबइन्जिनियर पढ्न थालिसकेका छन् । बाँकी डाक्टर र इन्जिनियर पढ्न चाहने विद्यार्थीका लागि समेत ऋण दिने तयारी भएको निमित्त प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।

शैक्षिक ऋण लिनका लागि परिवारका जो कसैको नाममा भएको सम्पत्ति धितो राख्नुपर्ने र शैक्षिक योग्यता भएको कागजात पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । नगरपालिकाले एकमुष्ठ रुपमा आठबिसकोट बचत तथा ऋण सहकारी संस्थालाई शैक्षिक ऋणका लागि छुट्याईएको बजेट उपलब्ध गराउने र त्यहाँबाट सम्झौता अनुसारको रकम विद्यार्थीले लिन मिल्ने व्यवस्था गरिएको छ ।

उक्त ऋणबाट अध्ययन गरेका विद्यार्थीहरूले रोजगारी पाएपछि मात्रै त्यसको सावाँ र ब्याज तिर्नुपर्ने छ । युवा पुस्तालाई उत्साहित बनाउँदै अगाडि बढ्ने नगर प्रमुख गोरखबहादुर केसीको भनाई छ । दुर्गम गाउँमा पनि दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि समेत यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।