सप्तरीमा स्वाईन फ्लु र हङकङ फ्लुका विरामी फेला परे

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।
सप्तरीमा स्वाईन फ्लु र हङकङ फ्लुवाट प्रभावित विरामी फेला परेका छन् ।
स्वाईन फ्लुका १ तथा हङकङ फ्लुका १० जना विरामी फला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कञ्चनरुप नपाका १ जनामा स्वाईन फ्लु तथा ४ जनामा हङकङ फ्लु र हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना हङकङ फ्लुका विरामी फेला परेको जनस्वास्थ्य प्रमुख निरन्जन यादवले वताए ।

कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परिक्षणका यस्तो अवस्था देखिएको उनले जनाए । ८ जनाको रिपोर्ट आउन वाँकी छ ।

भदौ २४ देखि कंचनरुप र हनुमाननगरमा गरिएको स्वास्थ्य शिवीर मार्फत २४ जनाको रगत र ¥याल परिक्षणका लागि काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । परिक्षणमा कञ्चनरुप नगरपालिका ७ का हरिलाल साहलाई स्वाईन फ्लुको संक्रमण भएको यादवले जानकारी दिएका छन् ।

कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवस बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु तथा ज्वरो र रुघाखोकीका विरामी वढ्दै गएपछि कञ्चरुप तथा हनुमाननगर क्षेत्रमा हेल्थ क्याम्प स्थापना गरीएको थियो । यसैविचमा ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ मा ६० वर्षिया वलसाल सरदारको मृत्यु भइसकेको छ ।

कञ्चनरुप तथा हनुमाननगर नगरपालिकामा स्वाईन फ्लु र हङकङ फ्लुको भाईरस फेला परेपछि जिल्ला दैवि प्रकोप उद्दार समितिको अपतकालिन वैठक वसेको छ । वैठकमा प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको ब्यवस्था मिलाउने निर्णय गरेको छ ।