विश्व शिक्षक महासंघको बैठक श्रीलंकामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
विश्वका प्रगतिशिल एवं समाजवादी विचार पक्षधर शिक्षक प्रध्यापकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व शिक्षक महासंघ (फिजे) को एशिया प्रशान्त क्षेत्रिय कमिटीको बैठक भोली शुक्रवारदेखि श्रीलंकाको कोलम्बोमा शुरु हुँदैछ ।

बैठकमा सहभागी हुन नेपालबाट विभिन्न ६ शिक्षक युनियनका प्रतिनिधी विहीवार कोलम्बो प्रस्थान गरेका छन् । विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एशोसिएसन (उस्टान) का अध्यक्ष रामकुमार वान्तवा राईको नेतृत्वमा १५ सदस्यीय टोली बैठकमा सहभागी हुँदैछ ।

उस्टान उपाध्यक्षद्धय नविन पौडेल र कविता लुँईटेल भट्टराई, एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो)बाट उपाध्यक्षहरु कृष्णदत्त जोशी, ऋषिराम चापागाई, महासचिव निम बहादुर केसी कार्यक्रममा सहभागी रहने बताइएको छ । त्यसैगरी माध्यमिक विद्यालय शिक्षक एशोसिएसन (हिस्टान)का अध्यक्ष पुष्प न्यौपाने, वरिष्ठ उपाध्यक्ष ऋषिराम कट्टेल र महासचिव विक्रम पोख्रेल बैठकका लागि प्रस्थान गर्नु भएको छ ।

अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरु गंगाप्रसाद पौडेल, कमला वन्जाडे भुषाल, अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरु लक्ष्मीराम ढकाल, शंकर प्रसाद ढकाल र महासचिव रमेश रुपाखेती र नेपाल शिक्षक महासंघ (सिएनटी) बाट उपमहासचिव दीनानाथ तिमल्सिना कार्यक्रममा सहभागी रहनु हुनेछ । विश्व शिक्षक महासंध सन् १९४६ मा स्थापना भएको हो ।

सो महासंघ विश्व टे«ड यूनियन महासंघ (डब्लुएफटीयू) का विभिन्न १० वटा टे«ड यूनियन इन्टरनेसनल यूनियन मध्येको एक हो । कोलम्बो बैठकमा विश्व डब्लुएफटीयुका महासचिव जर्ज म्याभ्रीकोज र विश्व शिक्षक महासंघका महासचिव मारियोले सम्बोधन गर्ने डब्लुएफटीयूका नेपालका संयोजक प्रेमलकुमार खनालले जानकारी दिनुभयो ।

वैठकमा नवउदारवादी शिक्षा नीतिका कारण शैक्षिक क्षेत्रमा बढिरहेको व्यापारीकरण र नीजिकरणका दुष्परिणाम, शिक्षक, प्राध्यापकहरुले भोगी रहेका समस्या जस्ता विषयमा विस्तृत छलफल हुने उहाँले बताउनुभयो ।