बाढीले विद्यालय भवन र सडक बगायो, बेनी–जोमसोम सडक अवरुद्ध

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
वर्षाका कारण उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलस्थित रघुगंगा नदीमा आएको बाढीले विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा बाढी र पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझको बाढीले घ्याँसीखर्कमा रहेको रितुङ माध्यमिक विद्यालयको चारकोठे र दुईकोठे भवन तथा तीनवटा शौचालय बगाएको हो ।


बाढी पहिरोले विद्यालयको तीनकोठे भवनको एकवटा कोठा बगाएको कुईनेमङ्गलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए । बाढीले खरिबोटमा स्थानीयको तीनचार वटा घरमा क्षति पु¥याएको छ भने साहारा युवा क्लबको भवन, स्टेच र मैदान बगाउनुका साथै झिङ्खानी महिला बचत तथा ऋण सहकारी संस्थाको भवनमा क्षति पु¥याएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार बाढीले घ्याँसीखर्कमा रहेको स्वास्थ्यचौकी भवन र झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिराका कारण रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रका बस्तीहरुमा क्षति पुगेको छ । म्याग्दी सदरमुकाम बेनीबजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा लगाइएको पक्की पर्खाल बाढीले बगाएको छ । कालीगण्डकीमा आएको बाढीले झण्डै ५० मिटर पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनीबजार उच्च जोखिममा परेको छ ।


यसैगरी रघुगंगा गाउँपालिका–३, राहुघाटको बस्ती र बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा नदीमाथिको बेलिब्रिज कटानको जोखिममा परेको छ । रघुगंगा र कालीगण्डकीमा आएको बाढीका कारण गलेश्वर पारीपट्टी रहेको राममन्दिर पनि उच्च जोखिममा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–२, पर्वत बेनीदेखि बगरफाँटतर्फ जाने सडक पनि बगाएको छ । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको विभिन्न ठाउँमा बाढी र पहिरोले सडक कटान गरेपछि यातायात सेवा पूर्ण रुपमा बन्द भएको छ ।


कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानीमा बेनी–जोमसोम सडक कटान गरेको छ भने दानाको घट्टेकुलो र रुप्से छहरामा पहिरो जाँदा सडकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बाढीपहिरोले सडक अवरुद्ध बनाएपछि स्थानीयवासी तथा मुस्ताङ ओहोर–दोहोर गर्ने पर्यटकहरु समस्यामा परेका छन् ।


यसैबीच हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५, कुञ्जोस्थित स्वास्थ्यचौकी र आमा समूहको भवन पुरिएकोे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।