खोटाङमा व्यवसायिक चिया खेतीको राम्रो सम्भावना

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङमा व्यवसायिक चिया खेतीको राम्रो सम्भावना पाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको माथिल्लो क्षेत्रमा गरिएको अध्ययन अनुसार व्यवसायिक चिया खेतीको राम्रो सम्भावना पाईएको हो ।

दोर्पाको खावाडाँडा, चैते र दुधिले लगायतका खाली जग्गामा व्यवसायिक रुपमा चिया खेती लगाउनका लागि वडा कार्यालयको पहलमा विज्ञहरुले सम्भाव्यता अध्ययन गरेको हो । विज्ञहरुको अनुसार उक्त क्षेत्रमा व्यवसायिक चिया खेतीको राम्रो समभावना देखिएको हो ।


चिया खेतीमार्फत वडाको सम्बृद्धिका लागि गठन गरिएको चिया उत्पादन समुहमा आवद्ध किसानलाई चिया खेती सम्बन्धी प्राविधिक एबम सैद्धान्तिक ज्ञान बारे समेत जानकारी दिईएको छ । प्राविधिक तथा सैद्दान्तिक ज्ञान प्रदान गरिएपछि चिया खेतीका लागि छानिएको क्षेत्रको भौगोलिक अवस्थाका बिषयमा स्थलगत अध्ययन गरिएको हो । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोड झापाको प्राविधिक सहयोगमा चियाको सम्भाव्यता बारे अध्ययन गरिएको वडाध्यक्ष लिला चौहानले बताउनुभयो ।

निरीक्षण–अवलोकनका क्रममा सो जग्गामा विशिष्ट गुणस्तरको चिया उत्पादन गर्न सकिने सम्भावना देखिएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालयका चिया प्राविधिक नबिन कोईरालाले बताउनुभयो । प्रारम्भिक रुपमा २० रोपनी जग्गामा लगाइने चिया खेती क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।

चिया खेतीको सम्भावनालाई पूष्टी गर्नका लागि राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालयले ल्याव टेष्टका लागि माटो लिएर गएको छ । दोर्पाचिउरीडाँडामा टि–टुरिजमको सम्भावना समेत उत्तिकै देखिएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालयका प्रशासन सहायक मिनबहादुर लिम्बूले बताउनुभयो ।

उक्त क्षेत्र मध्यपहाडी लोकमार्गको आसपासमा पर्ने भएकोले समेत व्यवसायिक चिया खेतिवाट प्रशस्त लाभ लिन सकिने लिम्बूको सुझाव छ । चिया खेतीलाई विस्तार गरी जिल्लालाई पर्यटकीय क्षेत्रको रुपवाट समेत विकास गर्न सकिने विज्ञहरुले सुझाव दिएका छन् ।