रुकुम पश्चिममा पछिल्लो समय बालश्रमिक घट्दै

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोटमा बालश्रमिकको संख्या घट्ने क्रममा रहेको छ । बालश्रम न्यूनिकरणका लागि सदरमुकाम आसपासका होटेल, कलकारखाना तथा उद्योगमा गरिने सचेतानमूलक अनुगमनले बालश्रमिकको संख्या विस्तारै घट्न थालेको हो ।

जिल्ला स्थित बालअधिकारको पक्षमा काम गर्ने विभिन्न सरोकारवाला निकायको सक्रियता र लगातारको अनुगमणले बालश्रमिकको संख्यामा सुधार आएको बताईएको छ । सदरमुकाम मुसिकोटको खलंगा, बागबजार, पातुखोला लगायत बजार क्षेत्रका विभिन्न होटेल–पसल र उद्योगमा बालश्रमिकको संख्या न्यून अवस्थामा रहेको छ ।

सदरमुकामका झण्डै वीस भन्दा बढी होटेल, पसल तथा उद्योगमा मंगलबार गरिएको एक सचेतनामूलक अनुगमणपछि तीनजना बालश्रमिक भेटिएका छन् । १७ वर्ष मूनिका तीनजना बालश्रमिकले विभिन्न होटेल तथा उद्योगमा काम गरिरहेको अवस्थामा भेटिएका हन् । अनुगमनका क्रममा भेटिएका बालश्रमिकलाई बालश्रमको रुपमा प्रयोग नगर्न र उनीहरुको व्यवस्थापनका लागि सञ्चालकलाई समेत आग्रह गरिएको जिल्ला बालअधिकार अधिकृत मानवीर ओलीले बताउनुभयो ।

यसअघि रुकुम पश्चिमको मुसिकोटमा बालश्रमिकको संख्या कहाली लाग्दो अवस्थामा रहेको थियो । पाँचवर्ष पहिले मुसिकोटमा ४१ जना बालश्रमिकहरु जिल्लाका विभिन्न होटेल तथा उद्योगमा श्रमिकको रुपमा काम गरिरहेको अवस्थामा भेटिएका थिए । तर बालअधिकारको पक्षमा काम गर्ने जिल्ला स्थित सरोकारवाला निकायको अनुगमण र सक्रियाताले बालश्रमिकको संख्या घटेको हो ।