नेविसंघको अधिवेशन कार्तिकको दोस्रो साता

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली काग्रेसको शसक्त भातृ संगठन नेपाल विद्यार्थि संघ (नेविसंघ) को १२औं महाधिवेशन कार्तिकको दोस्रो साता हुने भएको छ । लामो विवाद र रस्साकस्सिपछि अन्तत नेविसंघको केन्द्रिय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो । नेविसंघको अधिवेशन कात्तिक १६,१७ र १८ गते हुने भएको छ ।

नेविसंघ केन्द्रिय समितिले महाधिवेशनको मिति तय गर्नुका साथै संघीय संरचना अनुसारको विधान र नियमावली समेत तयार पारि भोली वुधवार काग्रेस केन्द्रिय समितिमा पेश गरेको छ । संघीय संरचना अनुसारको नेविसंघको विधानलाई पर्सि विहिवार गते बस्ने काग्रेस केन्द्रिय समिति बैठकले पारित गर्ने बताइएको छ ।

नेविसंघका सहमहामन्त्री माधव ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार सातै प्रदेशमा अधिकार सम्पन्न नेविसंघको प्रदेश समिति गठन गरिने छ भने अधिवेशन मार्फत अनुसाशन समिति निर्वाचित गरिने व्यवस्था गरिएको छ । यस अघि अनुशासन समिति केन्द्रिय समितिले निर्माण गर्ने व्यवस्था थियो । सहमहामन्त्री ढकालका अनुसार अहिलेको विधानमा महिलाको ३३ प्रतिशत उपस्थिति र नेतृत्व अनिवार्य गरिएको छ । पहिलेको विधानमा महिलालाई प्राथमिकता दिइने मात्र भनिएको थियो । नेविसंघले पारित गर्नको लागि केन्द्रिय समितिमा वुझाएको विधान तथा नियमावलीमा स्थानिय तहलाई प्राथमिकता दिएको छ । यस अघि जिल्लालाई प्राथमिकतामा राखेको थियो ।

उमेरका कारण निकै चर्चित मुद्दा बनेको नेविसंघले अन्ततः उमेर हद भने हटाएको छ । प्रस्तावित बिधान र नियमावलीमा ३२ बर्षको हदबन्दी हटाइएको छ । उमेर हद लगाएर राजनीति गर्न बन्देज लगाएको भन्दै लामो समयदेखि नेविसंघ भित्र चर्को बहस हुँदै आएको थियो। तीन दिन सम्म बसेको नेविसंघको केन्द्रिय समिति बैठकले अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीहरुको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका बिषयहरु समेटेर सबैसँग आवश्यक समन्वय गरी यही भदौ २७ गतेभित्र संघको संसोधित बिधान, नियमावली २०७५ नेपाली कांग्रेस पार्टीलाई बुझाउने निर्णय गरेको सहमहामन्त्री ढकालले जानकारी दिनुभएको छ ।

बिधान, नियमावली पार्टीबाट अनुमोदन भएपछि लगत्तै क्याम्पस, जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निम्न बमोजिम अधिबेशन गरिने भएको छ । अधिवेशनको कार्यतालिका अनुसार असोज ७ गते देशैभरका माध्यामिक विद्यालय र क्याम्पस मा अधिबेशन गरिने छ भने ।असोज १२ गाउँपालिका, महानगर र उपमहानगरपालिका अधिबेशन गरिने छ । असोज १५ मा प्रदेश क्षेत्र अधिबेशन गरिने र । असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिबेशन गर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिबेशन गर्ने र कार्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन गरिने छ ।

नेपाली काग्रेस भित्र देखिएको गुट उपगुट नेविसंघको अधिवेशनमा पनि छरपष्ट हुने भएको छ । समाचार स्रोतका अनुसार पार्टीको संस्थापन पक्ष (सभापति शेरवहादुर देउवा पक्ष) बाट पुष्प शाहि तथा सरोज थापाको नेतृत्वमा महाधिवेशनमा जाने बारे छलफल भैरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट दिपक भट्टराई तथा हिमाल श्रेष्ठको नेतृत्वमा महाधिवेशनमा अघि बढ्ने बारे छलफल भैरहेको छ । काग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दन काफ्लेको नेतृत्वमा महाधिवेशनको नेतृत्व छनौट प्रक्रियामा होमिने स्पष्ट परिसकेको छ ।