पुनको हत्या सत्ताको आडमा भएको रोल्पा कांग्रेसको आरोप

0
Shares

महेश न्यौपाने, रोल्पा ।
नेपाली कांग्रेस रोल्पाले तरुण नेता रोहित पुनको हत्या सत्ताको आडमा भएको आरोप लगाएको छ । नेता पुनको हत्याको विरोधमा सोमवार सदरमुकाम लिवाङमा आयोजित विरोध सभामा वोल्ने वक्ताहरुले उक्त आरोप लगाएका हुन ।
सत्ताको आडमा दिन दहाडै हतियारधारी समूहको चलखेल हुदा सम्म पनि सुरक्षा निकायले चासो नदिएको उनीहरुको आरोप छ । हत्यारालाई उन्मुक्ती दिन सत्ता रुढ दलका माथिल्लो तहका नेता नै लागि परेको उनीहरुले आरोप लगाएका छन ।

कम्युनिष्ट अधिनायकवादको पहिलो शिकार तरुण दल भएको नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिं पुनले आरोप लगाए । फकाई फकाइ रेष्टुरेन्टमा लगि गोलि हानेर मारिनु चानचुने योजना होईन पुनले भने । अपराधीहरुलाई पानी मुनी गए पनि नछोडिने सभापति पुनको भनाई छ । नागरिकमा स्वतन्त्रपूर्वक राजनैतिक आस्था राख्ने र निर्भयताका साथ हिडडुल गर्न नसकिने वातावरण सिर्जना भएको कांग्रेस कार्यकर्ताले वताएका छन ।

फरार हत्यारालाई पक्राउ तथा मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग सहित आन्दोलन अघि वढाईने नेपाल तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले जानकारी दिए । आज जिल्ला वन्दको आयोजना गरेको तरुण दल रोल्पाले पार्टीको आयोजनामा आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

हत्या आरोपमा प्रहरीले ५ जना पक्राउ गरेको छ भने २ जना अझै फरार रहेको वताइएको छ । हत्या आरोपीहरु अधिकांश पूर्व माओवादी केन्द्र संवद्ध वाईसिएलका कार्यकर्ता र केही पूर्व एमाले निकट युवा संघका कार्यकर्ता भएको नेपाली कांग्रेस रोल्पाले आरोप लगाएको छ । मृतक पुनको शव जिल्ला अस्पताल रेउघामा राखिएको छ । परिवारले शव वुझ्न नमाने पछि हाल सम्म पोष्टमार्टम समेत हुन सकेको छैन ।
हाल प्रमुख जिल्ला अधिकारी गञ्जवहादुर एमसीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय रोल्पामा सोही विषयमा छलफल भईरहेको सुरक्षा श्रोतले जानकारी दिएको छ ।