म्याग्दीमा सञ्चारको पहुँच बढ्दै, ९१ हजार म्याग्दीवासी दुरसञ्चार सञ्जालसँग जोडिए

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
भौगोलिक हिसाबले विकट तथा उच्च पहाडी जिल्ला म्याग्दीमा पछिल्लो सयम सञ्चारको पहुँच बढ्दै गएको छ । जिल्लामा हालसम्म ९१ हजार सर्वसाधारणहरु सञ्चारको सहज पहुँचमा पुगेका छन् । नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीको गत आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्क अनुसार जिल्लाभर कुल ९१ हजार ५८८ जना म्याग्दीवासी दुरसञ्चार सञ्जालसँग जोडिएका हुन् ।

२०६८ सालको जनगणना अनुसार म्याग्दीको कुल जनसङ्ख्या १ लाख १३ हजार ६४१ रहेकोमा त्यसमध्ये ८० दशमलव ६ प्रतिशत नागरिकहरु सञ्चारको पहुँचभित्र रहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा नमस्ते मोबाइल सेवाका प्रयोगकर्ता सबैभन्दा धेरै ७३ हजार ९४ र सिडिएमए÷स्काई फोनका १६ हजार २९० जना रहेका छन् । एडिएसलतर्फ जिल्लाभर ६६९ जना ग्राहकहरु छन् ।

यसैगरी ल्याण्डलाइन टेलिफोनका ग्राहक १ हजार ४८३ र भिस्याट तथा अन्य सेवाको ५२ जना ग्राहकहरु रहेको टेलिकम म्याग्दीका सूचना अधिकारी अशोक गौतमले जानकारी दिनुभयो । ल्याण्डलाइन टेलिफोन सेवातर्फ म्याग्दी सदरमुकाम बेनीबजार र गलेश्वरमा मात्रै १ हजार ३३७ जना ग्राहक रहेको उहाँले बताउनुभयो । त्यस्तै दरबाङमा ११२ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३४ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् । एडिएसएल बेनीबजार र गलेश्वरमा ५५६, दरबाङमा ८२ र घोरेपानीमा ३१ जना ग्राहकहरुले प्रयोग गर्दछन् ।

स्काई मोबाइलका १५ हजार ७८१ र सिडिएमए टेलिफोनका ५०९ जना ग्राहक रहेको सूचना अधिकारी गौतमको भनाइ छ । टेलिफोन सेवा सञ्चालनका लागि म्याग्दी जिल्लाको विभिन्न ठाउँमा हालसम्म ३३ ओटा बिटिएस टावरहरु सञ्चालनमा रहेकोमा मोबाइलका २४, सिडिएमए ५ र वाईम्याक्सको ४ ओटा टावरहरु सञ्चालन गरिएको छ । सदरमुकाम बेनीस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पसचोक, बेनी नगरपालिकाको ५ र ९ नम्बर वडामा मोबाइल फोनका लागि बिटिएस टावर सञ्चालन गरिएको छ । यसैबीच मंगला गाउँपालिका–४, बराङ्जास्थित पर्यटकीयस्थल झाँक्रीपानीमा समेत टेलिकमको बिटिएस जडानको क्रममा रहेको छ ।

जिल्लामा विद्युतको सेवा पुगेका अधिकांश ठाउँहरुमा इन्टरनेट चलाउनका लागि थ्रिजी सेवा पनि सञ्चालन गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो । भौगोलिक विकटता रहेपनि जिल्लाको झण्डै सबै जनसङ्ख्या कुनै न कुनै माध्यमबाट सञ्चारको पहुँचमा रहेको टेलिकमको दावी छ । जिल्लामा एनसेल मोबाइलका पनि प्रयोगकर्ताहरु रहेका छन्भने एउटै व्यक्तिले चार पाँचवटासम्म मोबाइल बोक्ने गरेको पाइएको छ । टेलिकमले पछिल्लो समय विभिन्न आकर्षक योजनाहरु ल्याएपछि इन्टरनेट चलाउने र मोबाइलका प्रयोगकर्ताहरु बढ्दै गएको तथ्याङ्क छ ।