शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल

0
Shares

हेटौँडा ।
प्रदेश नं ३ ले रु एक अर्ब १३ करोडको लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण कार्य अगाडि बढाएको छ ।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न तथा प्रहरीलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन प्रहरीचौकी भवन निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले आज आफ्नो कार्यकक्षमा रासससँग संक्षिप्त कुराकानी गर्दै शान्ति, सुरक्षा प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । मन्त्री जमकट्टेलका अनुसार प्रदेश नं ३ को चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभ्रेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ तथा रामेछापमा आठ प्रहरीचौकी भवन निर्माण गर्न लागिएको बताउनुभयो ।

मन्त्री जमकट्टेलले प्रदेश नं ३ का दुई हजार दुई सय द्वन्द्वपीडित परिवारलाई शिक्षा, स्वास्थ्य र सीपमूलक कार्यक्रमका लागि रु पाँच करोड बजेट छुट्याइनुका साथै कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । यस्तै, १३ जिल्लाको ७१ गाउँपालिकामा महिलामाथि हुने हिंसा, आपराधको मुद्दा हेर्नका लागि एक÷एकजना कानूनी सहजकर्ता ९अधिकारी० राख्नका लागि रु दुई करोड बजेट छुट्याइएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश नं ३ अन्तर्गत १३ जिल्लामा विपद् व्यवस्थापन सम्बन्धी कानून पास भइसकेको र नियम बनाएर अगाडि बढ्ने कार्य भइरहेको मन्त्री जमकट्टेलले बताउनुभयो । “सञ्चार सम्बन्धी ऐन तयार भएको छैन । कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउन थप कानून बनाउने प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।
रासस