चितवनमा मल अभाव, १० केजी मलका लागि घण्टौं लाइनमा किसान

0
Shares

कृष्ण आचाय, चितवन ।
अनुदानित युरिया मलको अभावका कारण चितवनका किसानहरुले सास्ती भोग्न बाध्य छन् । अहिलेको मौसममा धानखेतीका लागि अत्यावश्यक हुने युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । जसका कारण १० केजी मलका लागि दिनभर काम छाडेर किसान लाइनमा बस्न बाध्य छन् ।

युरिया मल विक्री वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पाएको छ । सरकारले नीजि क्षेत्रलाई युरिया मलको बिक्री बितरण गर्ने अनुमती दिएको छैन् । चितवनमा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमा समेत कम मल आपुर्ती भएकोले जिल्लामा युरिया मलको अभाव भएको कृषि सामग्री कम्पनी भरतपुरका शाखा प्रवन्धक रविन्द्र गौतम बताउँछन् । “माग बढ्दो छ, आपुर्ती सिमित छ”–गौतमले भने । हरेक वर्ष किसानले प्रयोग गर्ने मलको परिमाण बढ्दो क्रम रहेकोले यो समस्या आएको उनको भनाई छ । “धानको सिजनमा मल मौज्दात नहुँदा यो समस्या आएको हो”–शाखा प्रवन्धक गौतमले भने ।

चितवनमा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले १४७ संस्था मार्फत युरिया मल विक्री वितरण गरिरहेको छ । यो महिनामा मात्र ४ सय मेट्रिक टन युरिया मल विक्री वितरण भईसकेको कृषि सामग्री कम्पनीका शाखा प्रवन्धक गौतमले बताए । तर यो महिनाका लागि कम्तीमा एक हजार मेट्रिक टन मल आवश्यक परेको उनको भनाई छ ।

कृषि मन्त्रालयलाईको तथ्यांक अनुसार नेपालमा ५ लाख मेट्रिक टन मल आवश्यक छ । तर हाल २ लाख ५० हजार मेट्रिक टन मात्रै मल आपुर्तीले यो समस्या सिर्जित भएको हो ।

चितवनमा वार्षिक १५ हजार मेट्रिक टन मल आवश्यक पर्छ । यी मल केरा, तरकारी र खाद्यान्न बालीमा प्रयोग हुदै आईरहेको छ । खाद्यान्न बालीमा मलको प्रयोग बढ्नु र सिमित कोटामा मात्रै मल आपुर्ती हुनुले वर्षेनी मलको अभाव हुँदै आईरहेको छ । नेपालमा माग र आपूर्तिको सन्तुलन नमिलेको प्रमुख गौतमको भनाई छ ।

युरिया मलको अभाव भएपछि किसानले दोब्बर मूल्य तिरेर युरियाको साटो एमोनियम सल्फेट (चिनी मल) खरीद गर्न बाध्य छ । सरकारले उपलब्ध गराउँदै आएको मल किसानले प्रतिकिलो २० रुपैंँयाका दरले पाउने गरेका छन् ।

अनुदानित युरिया मलको मूल्य प्रतिबोरा रु ७६५ छ र तर गैर अनुदानित चिनीमल एक हजार ३०० माथि छ । मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा रु २५ घटाएर एक हजार ३३५ मा एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख वुद्धिविनोद दाहालले बताए ।

उनले भने–“किसानलाई मर्का नपर्ने गरि युरियाकै जत्ति काम गर्ने एमोनियम सल्फेट विक्री गरेका छौं, यो मल दोब्बर मात्रामा प्रयोग गर्दा युरिया मल जस्तै काम गर्छ ।”