६ महिना हुँदापनि प्रदेश मुख्यमन्त्री राईको सम्पत्ति विवरण सार्वजनिक भएन

0
Shares

सरोज यादव, विराटनगर ।
प्रदेश सरकार गठन भएको ६ महिना पूरा हुदाँपनि प्रदेश नं १ का सरकारका सदस्यहरुले सम्पत्ति विवरण बुझाउन अटेर गरेका छन । मुख्यमन्त्री शेरधन राईसहित तीन जना मन्त्रीले अझैपनि आफनो सम्पत्ति विवरण बुझाएका छैनन् । प्रदेश सरकारको मन्त्रिमण्डल पाँच सदस्य रहेको छ । जसमा सामाजिक बिकास मन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मात्र आफनो सम्पत्ति विवरण बुझाएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

आन्तिरिक मामिला तथा कानुन मन्त्री कार्की र सामाजिक बिकासमन्त्री घिमिरेले भने पदधारण गरेको ६० दिन अगावै आफनो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार मुख्यमन्त्री शेरधन राई, उद्योग वन,वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैतले आफनो सम्पत्ति विवरण हालसम्म बुझाएका छैनन् । पाँच सदस्यमन्त्री मण्डलमध्ये भौतिक पूर्वधार र कृषि तथा सहकारी मन्त्रालयले अहिलेसम्म मन्त्री पाउन सकेको छैन । कानुन अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरुले आफू पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर,प्रदेश सरकारका मुख्यमन्त्री चयन भएको झण्डै सात महिना हुँदा पनि सम्पत्ति विवरण बुझाएका छौनन् । २०७४ फागुन ११ गते तत्कालीन एमाले प्रदेश संसदीय दलका नेता शेरधन राई प्रदेश १ को मुख्यमन्त्री पदमा वाहाली भएका थिए । उक्त दिन नै राईले पाँच सदस्य मन्त्री मण्डल गठन गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरण सोही कार्यालयको बेबसाइटमार्फत सार्वजनिक गर्ने चलन छ ।

मन्त्रिपरिषद्का सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ५० बमोजिम आफ्नो र परिवारको नाममा रहेको चल अचल सम्पत्तिको विबरण ६० दिनभित्र सार्वजनिक गर्ने प्राबधान छ ।