बैतडीका स्थानीय तहमा अझै बैंक नपुग्दा सदरमुकाम धाउनुपर्ने बाध्यता

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
सरकारले वि स २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भनेपनि बैतडीका सबै स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् । जिललाका २ ओटा स्थानीय तहमा बैंक स्थापना नहुँदा त्यस क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य भएका छन् । सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा बैंकका शाखा स्थापना हुन नसकेका हुन् । यी दुई गाउँपालिकामा कुनै पनि बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि तथा स्थानिय बासिन्दा सदरमुकाम पुगेर बैंकिंङ कारोबार गर्न बाध्य भएका हुन् । सरकारले यसअघि नै स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना गर्ने भनेपनि बैंक नहुँदा सास्ती हुने गरेको शिवनाथका बिरेन्द्र महताले बताए । गाउँमा बैंक नहुँदा समस्या भएको छ उनले भने“सानो बंैंकिङ कारोबारलाई पनि सदरमुकाम पुग्नुपर्छ ।”

शिवनाथ गाउँपालिकामा केही दिनमै नेपाल एसबिआई बैंक स्थापनाको तयारी भएको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बतार्एन् ।उनले भनिन्“ गाउँपालिकामा बैंक स्थापनाका लागी कुरा अगाडी बढिसकेको छ ” गत बर्षपनि बैंक नहुँदा योजना सम्पन्न हुदाँ भुक्तानीमा ढिलाई भएको थियो ।

यस्तै सिगास गाउँपालिकामा पनि बैंक नहुँदा समस्या भएको पदम साउँदले बताए । बैंकिङ कारोबारकै लागी हजारभन्दा बढी पैसा खर्च गरेर डडेल्धुरा तथा सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । सिगासमा गत महिनामै कृषि विकास बैंक स्थापनाको लागी तयारी भएको भएपनि विभिन्न समस्याका कारणले स्थापना हुन नसकेको गाउँपािलका उपाध्यक्ष द्रोपती चन्दले बताईन् । उनले भनिन्“विद्युत ईन्टरनेटको समस्याका कारण बैंक स्थापनामा ढिलाई भएको छ ।”

बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम जान बाध्य भएको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले बताए । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ । उनले भने“हरेक आर्थिक कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको छ ।”
बैतडीका १० स्थानीय तहमध्ये ८ स्थानीय तहमा यसअघि विभिन्न बैंकका शाखा स्थापना भईसकेका छन् ।