अपराध न्युनिकरणका लागि स्कुल–स्कुलमा प्रहरी

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
आपराधिक घटनाहरु दिनानुदिन बढिरहेका बेला जिल्ला प्रहरी कार्यालयले स्कुल–स्कुलमा प्रहरी अभियान सुरु गरेको छ । सोमबार जिल्ला सदरुकाम चौतारामा स्थानीय जनप्रतिनीधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको उपस्थितीमा स्कुल स्कुलमा प्रहरी अभियान सुरुवात गरिएको हो ।

अभियान सुरु भएसँगै अब सिन्धुपाल्चोकका ३५ हजार स्कुले बालबालिकासम्म प्रहरी पुग्ने भएको छ । अभियानको शुभारम्भ गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले सचेतनाका स्वर बोकेर सिन्धुपाल्चोकका हरेक विद्यालयमा प्रहरी पुग्ने बताए । ‘असल शिक्षाबाट नै असल समाजको निर्माण हुने हो’, स्कुल स्कुलमा प्रहरी अभियान सुरुवात गर्दै प्रहरी उपरिक्षक मरासिनीले भने,–‘मुलत हामी यौन हिंशा, लागुऔषध र सवारी दुर्घाटना न्युनिकरणका लागि सचेतना जगाउँदै स्कुल स्कुलमा पुग्नेछौं ।’ कानुन विपरितका कार्य मात्र अपराध नभई कानुनले दिएका काम नगर्नु पनि अपराध हुने भन्दै स्कुले बालबालिका मार्फत समाजमा सचेतना जगाउन लागिएको उनले सुनाए । ‘स्कुल गएकी छोरी सुरक्षित रुपमा घर फर्कन नपाउने अवस्था छ, बोक्सी आरोपमा धेरै आमादिदिहरुले दुव्र्यवहार सहिरहेका छन्’, मरासिनीले भने,–‘सामाजिक विसंगती र कुरितिबाट मुक्त समाज निर्माणका लागि स्कुल स्कुलमा प्रहरी अभियान सुरु गरेका हौं ।’

स्कुल स्कुलमा प्रहरी अभियानको उद्घाटन समारोहमा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्डेले अपराध न्युनिकरण र सभ्य समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रचनात्मक काम थालनी गरेको बताए ।‘दुव्र्यवहार सहेर बस्नु हुँदैन, भोगेका र देखेका घटना प्रहरीलाई निर्धक्क भन्नुस’, अभियान उद्घाटन समारोहमा उपस्थित विद्यार्थीहरुबीच ईकाई प्रमुख पाण्डेले भने । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले अपराधमुक्त सिन्धुपाल्चोक निर्माणका लागि प्रहरीसँगै हातेमालो गर्दै स्थानीय जनता नै लाग्नुपर्ने बताए । ‘अब एक घर एक प्रहरी हुनुपर्छ’, मेयर तामाङले भने,–‘विद्यार्थी भाइबैनीहरु अब बर्दिविनाकै प्रहरी बनेर अपराध न्युनिकरणमा जुट्नुपर्दछ ।’