फिल्मकर्मीले मागे ऐन

0
Shares

नेपाल चलचित्र कलाकार संघको ३१आंै स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल चलचित्र कलकार संघद्वारा राष्ट्रिय चलचित्र नीति–२०७१ लाई प्रभावकारीरूपमा कार्यान्वयनका लागि सुझाव दिने उद्देश्यले शनिबार राजधानीमा अयोजित कार्यक्रममा फिल्मकर्मीले अब ऐन निर्माण गरिनुपर्नेमा जोड दिएका छन्। चलचित्र नीति बाध्यकारी नभएकाले अब ऐन नै ल्याउनुपर्ने जोड फिल्मकर्मीहरूको थियो।
सरकारले भित्रभित्रै आम सञ्चारको यो क्षेत्रलाई संस्कृति मन्त्रालयअन्तर्गत निहीत गरिरहेको अवस्थामा केही फिल्मकर्मीले सञ्चार मन्त्रालयअन्तर्गत रहेको फिल्म क्षेत्रलाई अब संस्कृति मन्त्रालयतर्फ लैजानुपर्ने खुला आवाज उठाएका छन्। कार्यक्रममा आयोजक संघका पँर्वअध्यक्ष कृष्ण मल्लले राष्ट्रिय चलचित्र नीति कार्यान्वयन फितलो भएकाले ऐन ल्याउनुपर्नेमा जोड दिए।
नेपाल टेलिचलचित्र कलाकर्मी संघका पँर्वअध्यक्ष तथा अधिवक्ता कृष्ण ढुंगानाले पञ्चायत कालमा बनेको फिल्म नीतिले नै अझैसम्म चलचित्र उद्योग चलेको चर्चा गर्दै उद्योगका कैयौं समस्यालाई कानुनीरूपमा निराकरण गर्न ऐन आवश्यक भइसकेको बताए। आयोजक संघका कानुनी सल्लाहकार एवं अधिवक्ता शम्भु निरौलाले नीतिलाई सही ढंगले उपयोग गर्न सके धेरै फाइदा लिन सकिने चर्चा गर्दै ऐन ल्याउन सके अझ धेरै फाइदा हुने बताए। चलचित्र विकास बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद साखीले ऐन बनाउन बोर्ड सकारात्मक रहेको बताए। फिल्मकर्मी दिनेश डीसीले नयाँ फिल्म नीतिमा धेरै कुरा समेटिए पनि कार्यान्वयनमा नआएको चर्चा गरे।
त्यसै गरी आयोजक संघका अध्यक्ष रामकेशर बोगटीले पटक–पटकको पहलका बाबजुद नीति कार्यान्वयन नभएपछि यसबारे बहस चलाइएको प्रस्ट पारे। कार्यक्रममा अभिनेता मदनदास श्रेष्ठ नेपाल ज्येष्ठ नागरिक महासंघ केन्द्रीय अध्यक्षमा चयन भएकोमा बधाई ज्ञापन गरिएको थियो भने हालै दिवंगत भएका रंगकर्मी, अभिनेता तथा गायक हरिप्रसाद रिमालप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।