इनपा जिल्लाकै पहिलो शतप्रतिशत बिद्यार्थी भर्ना नगरपालिका घोषणा

0
Shares

गणेश घिमिरे, इलाम ।
जिल्लाको पुरानो नगरपालिका इलामनगरपालिका जिल्लाकै पहिलो शतप्रतिशत बिद्यालय भर्ना नगरपालिका घोषणा भएको छ । इलामनगरपालिका नगरकार्यपालिकाले शनिबार सदरमुकाममा इलाम नगरपालिका जिल्लाकै पहिलो शतप्रतिशत बिद्यार्थी भर्ना घोषणा गरेको हो ।
नगरपालिकाको वडा नम्बर १ देखि १२ नम्बर वडाकै बिद्यालयमा सबै बालबालिका बिद्यालय भर्ना भएकोले घोषणा गरीएको नगर प्रमुख महेश बस्नेतले बताए । ‘नगरको सबै क्षेत्रमा दलित, बिपन्न रहेको अन्य टोलमा स्थलगत अनुगमन गर्दा कुनैपनि वडाको टोल–टोलमा बिद्यालय भर्ना हुनबाट बिद्यार्थी बञ्चित नरहेको पाइयो’ बस्नेतले भने ‘५ देखि १२ बर्ष उमेर समूहका बालबालिका सबै बिद्यालयमा भर्ना भइसकेकाले इलामनगरपालिका शतप्रतिशत बिद्यार्थी भर्ना घोषणा गरेका हौं ।’ बालबालिका बिद्यालय भर्ना भएको १२ वटै वडाका वडाध्यक्षले गरेको सिफारीसको आधारमा घोषणा गरेको हो । इलाम नगरपालिकामा जम्मा सामुदायिक बिद्यालय सङ्ख्या ५४ वटा रहेको छ । त्यसमा आधारभूत कक्षा (१–५) ३१ वटा, आधारभूत कक्षा (६–८) १० वटा र माध्यमिक तह कक्षा (९–१०) १३ वटा रहेको छ । यी तीनै तहमा जम्मा पाँचहजार ३१ जना बिद्यार्थी सङ्ख्या छन् । जसमा छात्र २ हजार ४ सय २३ र छात्रा २ हजार ६ सय ८ जना रहेका छन् । इलाम नगरको जम्मा बिद्यार्थी सङ्ख्या मध्ये दलित बिद्यार्थीको सङ्ख्या ५ सय ११ जना र गैर दलित बिद्यार्थीको सङ्ख्या ४ हजार ५ सय २० जना रहेको शिक्षा बिकास तथा समन्वय एकाई इलामको तथ्याङ्कमा उल्लेख छ ।

इलामनगरपालिकालाई शतप्रतिशत बिद्यालय भर्ना नगरपालिका घोषणा गरीरहँदा नगरमा बिद्यार्थीको कक्षा छोड्ने दर कक्षा दोहोरयाउनेको सङ्ख्या पनि उच्च छ । आधारभूत कक्षा (१–५) मा ५ दशमलव ६ प्रतिशत कक्षा छाड्ने दर छ भने ५ दशमलव २ प्रतिशत कक्षा दोहोरयाउने छ । यस्तै आधारभूत कक्षा (६–८) मा ७ दशमलव ३ प्रतिशत कक्षा छाड्ने बिद्यार्थीको सङ्ख्या रहँदा ४ दशमलव ९ प्रतिशत कक्षा दोहोरयाउनेको सङ्ख्या छ । यस्तै माध्यमकि तह कक्षा (९–१०) मा ३ दशमलव २ प्रतिशत कक्षा छाड्ने दर छ भने १ दशमलव ३ प्रतिशत कक्षा दोहोरयाउनेको दर तथ्याङ्कले देखाएको छ । यसरी हेर्दा नगरमा कक्षा छाड्ने दोहोरयाउनेको सङ्ख्या बढिरहँदा बिद्यार्थीलाई बिद्यालयमा टिकाइ राख्नका लागि चुनौती भने रहेको सरोकारवालाहरु बताउँछन् । बिद्यार्थीहरुलाई बिद्यालयमा टिकाइ राख्नका लागि अभिभावकलाई जनचेतनामूलक अभिमुखिकरण, अन्तरक्रिया जस्ता कार्यक्रम गरीन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख होमनाथ भण्डारीले इलामनगरको सम्पूर्ण वडामा स्थलगत अनुगमन गर्दा शतप्रतिशत बालबालिका बिद्यालय भर्ना भएको र कुनैपनि बालबालिका बिद्यालय बाहिर नरहेकोले अब उनीहरुमा पठन संस्कृतिको बिकास र बिद्यालयमा टिकाइराख्ने किसिमको शिक्षा दिनु जरुरी रहेको बताए । इलामनगरपालिका नगरकार्यपालिकाले शतप्रतिशत बिद्यालय भर्ना नगरपालिका घोषणा गर्न कार्यक्रमै गरेको थियो । सोहि अवसरमा शैक्षिक सम्मेलन समेत गरेको छ ।