पत्रकारको ब्यबसायीक स्वतन्त्रतालाई कुण्ठित गर्नुहुन्न

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
कानुन क्षेत्रका बिज्ञहरुले पत्रकारिता क्षेत्र लगायत चिकित्सक तथा वकिलको ब्यबसायीक स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताएका छन् ।
नयाँ फौजदारी, देवानी संहिताले समाजमा तरङ्ग ल्याएको सन्दर्भमा राष्ट्र निर्माण मन्चको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा पत्रकारका लागि आयोजित अन्तरकृया कार्यक्रममा बिशेष ऐनमा भएका संचार क्षेत्रका हकमा नयाँ कानुनले कुनै फरक नपार्ने र पार्न पनि नहुने बताईयो ।
कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायाधिस डा.श्रीप्रकाश उप्रेतीले पत्रकार लगायतका अन्य पेशाको ब्यबसायिक स्वतन्त्रतालाई स्थापित गर्नुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो,‘ पत्रकारिता लगायत चिकित्सक तथा वकिलको ब्यबसायीक स्वतन्त्रतालाई कुण्ठित गर्न हुँदैन तर ब्यबसायिक स्वतन्त्रताका नाममा अरुलाई अनावश्यक हानी पुर्याउन पाईन्न’।
आफ्नो ब्यबसायिक स्वतन्त्रताप्रति पत्रकार र संचारक्षेत्र सचेत र सजक रहनुपर्ने न्यायाधिस डा.उप्रेतीले बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ अधिबत्ता टिकाराम भट्टराईले पत्रकारले निर्वाध रुपमा आफ्नो ब्यबसायिक अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिंदै तर यो क्षेत्रको दुरुपयोगमा भने निगरानी राख्नुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रलाई अनावश्यक अंकुश लगाउने र पत्रकारलाई बाध्ने कानुन ल्याउन नहुने बताउँदै उहाँले सरकारले संसद्मा पेस गरेको गोपनीयतासम्बन्धी विधेयकको प्रावधानले पत्रकारलाई सूचना संकलन गर्न असहज हुने उल्लेख गर्नुभयो ।
उहाँले गोपनीयतासम्बन्धी हक कार्यान्वयन गर्न ल्याइएको विधेयकमा हरेक सूचनालाई वैयक्तिक सूचनाका रूपमा परिभाषित गरेर सार्वजनिक पदधारण गरेका व्यक्तिको समेत हरेक जानकारी गोप्य रोख्न खोजिएको बताउनुभयो ।
उहाँले पत्रकारिता मार्फत सार्वजनिक सरोकारका विषय सार्वजनिक हितका निम्ति असल नियतले सार्वजनिक गर्न कानुन बनाएर रोक लगाउन नपाइने बताउँदै सार्वजनिक हित र भलाइका निम्ति समाचार लेख्दा प्रेस माथि अंकुश लगाउन खोजिए आफू निशूल्क बहसका लागि सँधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार बालकृष्ण बस्नेतले केही नेता र केही कर्मचारीले आफ्ना कमजोरी प्रेस मार्फत खुल्ने डरले संविधानले आमसञ्चार माध्यमलाई दिएको पूर्ण प्रेस स्वतन्त्रता नै हनन हुने गरी गोपनीयतासम्बन्धी विधेयक अघि बढाएको बताउनुभयो ।
नेपाल बार एसोसियसन भक्तपुरका सचिब किरण न्यौपानेले प्रेस पनि मर्यादित र जिम्मेवार बन्नुपर्ने बताउँदै संविधानत प्रेसले प्राप्त गरेको हक कुनै पनि कानुनले खोस्न नसक्ने उख्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा अध्यक्ष पुष्करराज बुढाथोकीले नयाँ संहितामा राखिएका केही बुँदाबाट प्रेस स्वतन्त्रता हनन हुने भएको भन्दै नेपाल पत्रकार महासंघले विरोधका कार्यक्रम गरिरहेको बताउनुभयो ।
उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्दै अंकुश लगाउने देखिएकाले केही बुँदा संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गरिएको बताउनुभयो । राष्ट निर्माण मञ्चका अध्यक्ष निर्मल उप्रेतीले नयाँ कानुन र यसले ल्याएको तरङ्गबारे पत्रकारसँग अन्तरकृया गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा अधिबक्ता सुमन न्यौपाने र मंचका भक्तपुर संयोजक सुवास तिमिल्सीनाले भुकम्प प्रभाबित संरचनाको पुननिर्माण सम्बन्धि नीतिगत ब्यबस्था र भुकम्प प्रभाबितका लागि मंचले गरिरहेको सहजीकरण र सहयोग बारे समेत चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश सचिब अमर भुजु, नेपाल पत्रकार महासंघ भक्तपुरका पुर्ब अध्यक्ष बिकल श्रेष्ठ,महासंघका कोषाध्यक्ष मोहन बल्ल ,प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं,कृयाशिल पत्रकार मंचका अध्यक्ष रमेश गिरी,डोलेश्वर दैनिकका प्रधान सम्पादक पेशल आचार्य लगायत बिभिन्न संचार माध्यममा कार्यरत ४१ जना पत्रकारको सहभागिता रहेको थियो ।