डेढ महिनादेखि बलेवा बिमानस्थलमा उडान ठप्प

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
झण्डै साढे दुई दशकपछि संचालनमा आएको बलेवा विमानस्थल फेरीपनि डेढ महिनादेखि ठप्प बनेको छ ।
गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको बिमानस्थल झण्डै पाँच महिना पनि नपुग्दै बन्द भएको हो । अहिले डेढ महिना भन्दा बढि दिनदेखि कुनैपनि उडान हुन सकिरहेको छैन ।
बलेवा बिमानस्थलमा उडान भर्दै आएका दुईवटै बिमान बिग्रिएपछि उडान अवरुद्ध भएको हो । नेपाल एयरलाईन्सको विमान मर्मतमा राखिएको र तारा एयरको बिमान हुम्लामा दुर्घटनामा परेपछि विमान अभावका कारण उडान नभरेको विमानस्थलले जनाएको छ । तारा एयरले सुचना नै जारी गरी असार, साउन र भदौमा उडान नहुने जानकारी गराएको थियो । अन्तिम पटक गएको असार २८ मा नेपाल एयरलाईन्सले उडान भरेको थियो ।
नेपाल बायु सेवा निगम बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलका अनुसार ‘पुराना बिमान बिग्रिएका कारण झण्डै डेढ महिनादेखि उडान हुन नसकेको हो । एकातिर यात्रुको अभाव हुने र अर्कोतर्फ पुराना बिमान बिग्रिएर मर्मतका लागि राखिएकाले उडान हुन नसकेको हो ।’
अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि गएको चैत ९ गतेदेखि बिमानस्थल सुचारु भएको थियो । नगरपालिकाले अपुग यात्रुहरुको हर्जना तिर्दे आएको भएपनि चालु आर्थिक वर्षदेखि बिमान नै आउन छाडेपछि भुक्तानी गर्न समेत रोकेको छ ।
चैतदेखि हालसम्म दुवै कम्पनीले गरी २५ वटा उडान भरेका छन । नेपाल एयरलाईन्सले १३ र तारा एयरले १२ वटा उडान भरेको म्यानेजर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सको १३ वटा उडानमा अपुग भएका यात्रुहरुको हर्जाना ५ लाख १४ हजार ४ सय र तारा एयरको १२ वटा उडानमा अपुग यात्रुको ५ लाख ६५ हजार रुपैया नगरपालिकाले हर्जाना तिरेको छ ।
एकातिर बिमानस्थल पनि कालोपत्रे नभएको र अर्कोतर्फ मौसमको कारण देखाउँदै उडान नमान्ने गरेको पौडेलले बताउनुभयो । रनवे कालोपत्रे नभएकाले वर्षा रोकिएको दुई घण्टा पछि मात्र उडान भर्न मिल्छ । उहाँले भन्नुभयो–‘वर्षा र यात्रुको ग्यारेण्टी नहुँदा पनि समस्या भएको हो ।’ तारा एयरले आगामी असोजदेखि र नेपाल एयरलाईन्सले केहिदनपछि मात्रै उडान भर्ने जानकारी आएको भएपनि निश्चित भने नभएको पौडेलले बताउनुभयो । आईतबार तारा एयर र बिहीवार नेपाल एयरलाईन्सले उडान भर्दै आएका थिए ।
बिमानमा दुबै तर्फ गरेर २४ जना यात्रु हुनु पर्नेमा यात्रु नपुग भएमा त्यसको हर्जना बागलुङ नगरपालिकाले बुझाउनुपर्ने सम्झौता अनुसार एक जना यात्रुको भाडा ६ हजार ७ सय ९५ को दरले नपुग हर्जना गर्दै आएका थियो ।
२०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ बर्षदेखी बन्द रहेको थियो । बलेवादेखी काठमाण्डौं सम्म ४५ मिनेटमा पुगिने हवाई शुल्क धेरै भएपछि यात्रुहरुले भाडा समायोजन गर्न माग गरेका थिए ।