सडकमै गाडीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण

0
Shares

कृष्ण आचार्य, चितवन ।
विरगन्ज देखि नौंबिसेसम्म नियमित ट्रक चलाउँदै आएका धादिङ गजुरीका रमेश थापा ट्राफिकले अचानक ट्रक रोकेपछि लाइसेन्स र बिलबुक तयार पारे । अघिपछि सधै गाडी रोकेपछि लाइसेन्स र बिलबुक माग्ने ट्राफिकले शनिबार चितवनको रामनगरमा उनीसँग लाइसेन्स र बिलबुकको कुरा गरेनन् । ट्राफिकले थापासँग स्वास्थ्य र गाडीको अवस्थाबारे सोधे । ट्राफिकले स्वास्थ्य र गाडीको अवस्था बारे सोध्दा उनी अचम्ममा परे । ‘मलाई यसअघि कसैले पनि गाडीको अवस्था र स्वस्थ्यको बारे कुरा गरेका थिएनन्, खुसी हुँदै उनले भने’, आँखामा नियमित आँसु आइरन्थ्यो ।’ रुमालले पुछेर हिड्ने गरेको थिएँ, परीक्षणपछि थाहा भयो, औषधि हालेपछि ठिक हुने रहेछ । स्वास्थ्यको हेलचक्य्राई र समय अभावका कारण स्वास्थ्य परीक्षण गर्न नसकिएको उनले बताए । ‘धूलो धुवाँका कारण बेलाबेलामा स्वास्थ्य समस्या देखिरहन्छ’, थापाले भने, ‘राज्यले नै नियमित रुपमा यस्तो चेकजाँचको ब्यवस्था गरिदिए राम्रो हुने थियो ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शनिबार नारायणगढ–मुग्लिन सडकको रामनगरमा चितवन अटो मेकानिकल ब्यवसायी संघ र चितवन मेडिकल कलेजसँगको सहकार्यमा गाडीको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य परीक्षण गरेको हो ।

ना ६ ख ३२३२ नम्बरको गाडीको यान्त्रिक परिक्षण गरिरहेका चितवन अटो मेकानिकल ब्यवसायी संघका कोषाध्यक्ष प्रकाश पाठकले भने’,गाडीको केही पार्टस्को नटबल्ट भेटिएनन, सस्पेन्सर सिस्टम राम्रो छ । उनले गाडी दुर्घटना हुने अबस्थामा नदेखिएको बताए । गाडी चेकजाँच पछि गाडीको अबस्थाका बारेमा चालकलाई लेखेर दिइने र गाडीमा भेटिएका त्रुटि तुरुन्त मर्मत गर्न निर्देशन दिएको पाठकले बताए ।

सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि मेकानिक्सको ठूलो भूमिका हुने भएकाले गाडीको यान्त्रिक अवस्था र चिकित्सकको स्वास्थ्य अवस्था परीक्षण कार्यक्रम गरिएको संघका अध्यक्ष राम लोहनीले बताए ।

चितवनमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ । देशको केन्द्रबिन्दु र मुख्य राजमार्ग भएका कारण यहाँ दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ‘गाडी दुर्घटना हुँदा चालकलाई मात्रै दोष दिन्थ्यौं, ट्राफिक प्रमुख वेदप्रसाद गौतमले भने’, तर वास्तबमा सडकमा गुड्ने सवारीको अवस्था कस्तो छ, सडकमा गुड्न योग्य छ कि छैन, चालकको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्ने रहेछ ।’ नागरिकलाई सुरक्षित यात्रा गराउने दायित्व ट्राफिकको भएकाले स्वास्थ्य चालक र गाडीको अवस्था ठीक राख्न कार्यक्रम गरिएको गौतमले बताए । उनले एक दिनका लागि देखाउन मात्रै नभएर यसलाई निरन्तरता दिने दाबी गरे ।

धेरै चालकको अबस्था बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र लुकेको रोग हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने चितवन मेडिकल कलेजका चिकित्सक डा दयाराम लम्साल बताउँछन् । समयमै आँखा र शरीरको स्वास्थ्य परीक्षण गरियो भने दुर्घटना हुने सम्भावना कम हुने उनको भनाइ छ । ‘सबैको स्वास्थ्य अवस्था एउटै हुँदैन, डा.लम्सालले भने, ‘सबारी चालकले वर्षको एकपटक अनिवार्य नियमित चेकजाँच गराउनुपर्छ ।‘ ड्राइभिङ लाइसेन्स लिने बेलामा स्वास्थ्य परीक्षण गर्ने गरिए पनि त्यसपछि धेरैले नियमित चेकजाँच नगर्ने गरेको पाइएको डा लम्सालले बताए ।

सो अवसरमा साना ठूला गरि १३२ सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको थियो भने १४८ जनाको स्वास्थ्य र १२५ जनाको आँखा परीक्षण गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४÷७५ मा २७१ वटा सवारी दुर्घटना भएका छन् । जसमा १३२ जनाले ज्यान गुमाइसकेका छन् भने गम्भीर र सामान्य गरी ५२९ जना घाइते भएका छन् । भदौं महिनाको २२ गतेसम्म मात्रै २६ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । चितवनका करिब १०० किलोमिटर मुख्य राजमार्ग क्षेत्र पर्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दैनिकजसो जनचेतनाको कार्यक्रम गरिरहेको छ । तर,बढ्दो सवारी साधनको चाप र ट्राफिक जनशक्तिको अभावमा ट्राफिक ब्यवस्थापन र दुर्घटना न्यूनीकरण हुन सकेको छैन् ।