मानव सेवा आश्रमलाई सहयोगीको भरः पीडितको बन्दैछ स्थायी घर

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जको रानीघाटमा घर घाडामा लिएर २०७४ सालको जेठदेखि मानव सेवा आश्रम संचालित छ । मानव सेवा आश्रममा हाल ३१ जनालाई आश्रय दिइएको छ। मासिक ५० हजार रुपैयाँ बहाल तिर्दै आएको आश्रममा अब थप अनाथ, अपांग र असाहयलाई राख्ने ठाउँ नभएको आश्रमका संस्थापक संयोजक डाक्टर दीपक शाक्यले बताउछन् । दाताकै नगद र जिन्सी सहयोगबाट एक वर्षदेखि आश्रम चलिरहेको भन्दै शाक्यले अब भने यसको अभिभावकत्व महानगरपालिकाले लिनुपर्ने बताए।
वीरगन्जमा मानव सेवा आश्रम संचालनका लागि मह कार्यक्रम वा चर्चित हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले बिशेष कार्यक्रम गरी रकम समेत संकलन गरिदिएका थिए वीरगन्जमा मानव सेवा आश्रमको अवस्था यस्तो रहेपनि हेटौंडा रहेको मानव सेवा आश्रमको अवस्था भने फरक छ । पूर्व पश्चिम राजमार्गको कर्रा तरेर पारी पुगेपछि आउने चौतारोभन्दा करिब आधा किलोमिटर हिँडेपछि एउटा घर आउछ । त्यो घरमा ठूलो अक्षरमा मानव सेवा आश्रम लेखिएको छ । घरको गेटमा पुग्ने बित्तीकै ह्वील चियरको सहायताले ढोकैमा बसेका एक ब्यक्तिले नमस्कार गर्दछन् ।
अनि उनले सम्मानका साथ कसलाई भेट्न आउनु भएको हो भन्दै सोध्छन् । हुनत गेटमा सँधै एक ब्यक्ति नहुन सक्छन् यद्यपी प्रायः अर्धखाँचीमा घर बताउने ज्ञान बहादुर रायमाझी भेटिन्छन्। ह्वील चियरको सहायतामा हिँडडुल गर्ने उनी अहिलेका नेकपामा नेता र उहिलेका माओवादीका नेता टोप बहादुर रायमाझी आफ्नो भाइ भन्छन् । भित्र छिरेपछि उनी जस्ता थुप्रै भेटिन्छन्,त्यहाँ ।
यस्तै मध्यकी एक हुन्,पम्फा सुनार । उनीपनि हालै आश्रममा आएकी हुन् । उनी झट्ट हेर्दा कुनै अपांगता भएका ब्यक्ति जस्ती त देखिन्नन् तर उनको दिल भने पूरै छियाछिया भएको छ । हेटौंडाकी बस्तपुरकी उनले नौं महिनासम्म आफ्नो कोखमा राखेर दुःख गरेर हुर्काएर छोराछोरीले अपमान गरेपछि उनी आश्रममा आउन बाध्य भइन् ।दश बर्ष अघि श्रीमान बितेपछि उनी छोराछोरीहरुको हेंलाको पात्र भएकी थिइन् । मानव सेवा आश्रमका संचालक रामजी अधिकारीका अनुसार यो आश्रममा पाँचसय यस्ता पीडित छन् ।
तर,सबै हेटौंडामा छैनन् । २०६९ साल भदौ १३ गतेबाट हेटौंडामा यो आश्रम संचालनमा आएको थियो । अहिले मकवानुर सहित वीरगन्ज र देशका दश जिल्लामा यो संचालित छ । वीरगन्जमा भने केही बर्ष अघि मात्रै संचालनमा आएको हो । पीडितहरुको पीडामा रमाउन पाउदा आफूलाई गर्व लाग्ने अधिकारी बताउछन् ।
चार करोडको घर बन्दै
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ लामसुरे धापमा मानव सेवा आश्रमको भब्य भवन बन्दैछ । हेटौंडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको ८ कठ्ठा क्षेत्रफलमा यो घर बन्दैछ । मानव सेवा आश्रममा सबै प्रकारका ब्यक्तिहरुलाई राख्ने गरिन्छ । बालबालिका देखि ज्येष्ठ नागरिकसम्म रहने भएकाले यसै अनुसारको भवन बनाइएको अधिकारी बताउछन् । भवनको ६० प्रतिशत निर्माण कार्य सकिएपनि अझै ४० प्रतिशत बांकी छ । सडकमा कसैको पनि मृत्यु नहोस् भन्ने मुल उद्देश्य यो आश्रमले लिएको छ । यो घर बनेपछि झण्डै पाँचसय यस्ता पीडितलाई आश्रमले यही राख्न सक्नेछ ।
कहाँबाट आउछ पैसा ?
अधिकारी भन्छन् ः यो सबै सहयोगबाट संचालित छ । मन भएकाहरुको सहयोगले चलेको छ । बिदेशबाट एक रुपैया सहयोग लिइएको छैन ।बिदेशबाट सहयोग लिने नीति आफ्नो नभएको र आफूले सहयोग नलिने घोषणा गरेको बताउछन् । मुठ्ठी दानबाट संकलित सहयोगबाट मात्रै यो संस्था चलेको उनको दाबी छ । चार करोड सबै सहयोगबाट नै संभव भएको र अब पनि सहयोगबाट नै आफू अगाडि बढ्ने उनी बताउछन् ।