कथा काठमाडौं शहर डुल्दै

0
Shares

सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्म कथा काठमाडौंले शुक्रबारबाट शहर टुर कार्यक्रम शुरू गरेको छ।

जसअन्तर्गत यसका कालकारले इटहरी, धरान, दमक, हेटौंडा, नारायणगढ, बुटवल, दाङ र पोखरालगायतका शहरमा पुगेर फिल्मका बारेमा जानकारी गराउने भएका छन्। टुरअन्तर्गत नै पथरी, धरान, चितवन र दाङलगायतका स्थानको महोत्सवमा समेत सहभागी हुने यसको निर्माण संस्थाले जनाएको छ।

काठमाडौंलाई आफ्नो कर्मभूमि बनाएर बसिरहेका भिन्न–भिन्न पात्रको कथा उतारिएको फिल्मका रातको कुरा, जुन अनि तारालाई र टाइटल गीत कथा काठमाडांै रिलिज तथा यसको ट्रेलर सार्वजनिक गरेपछि चर्चा र विवादमा छ। आगामी असोज १२ मा रिलिज हुने फिल्म प्रियंका कार्की र प्रमोद अग्रहरीको हट सिनलाई लिएर चर्चा र विवाद दुवैैमा छ। प्रियंका र प्रमोदका साथमा आयुष्मान डीएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी मुख्य भूूमिकामा रहेको फिल्म आहाना फिल्मस्को ब्यानरमा विजय राईले निर्माण गरेका हुन्।

फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिएकी छिन् भने लुजा सिंहको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मको पटकथा निर्देशक श्रेष्ठले नै लेखेकी छिन्। ‘केही कथा र घटना हाम्रो अगाडि नै हुन्छ, तर त्यसमा हामी न बोल्न सक्छांै न त प्रतिकार नै। केही दबिएका कथा छन्, त्यही बाहिरै आएका कथा’, संगीता भन्छिन् ‘यो नै कथा काठमाडौंको कथा हो।’