बलात्कार विरुद्धको सयदिने सञ्चार अभियान सुरु

0
Shares

बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुव्र्यवहार गर्दिन, दुव्र्यवहार सहन्न’ भन्ने नारा

काठमाडौं ।
सामुदायिक सुचना नेटवर्क (सीआईएन) ले बलात्कार विरुद्ध चेतना जगाउन एक सय दिने सञ्चार अभियान सुरु गरेको छ । ‘बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुव्र्यवहार गर्दिन, दुव्र्यवहार सहन्न’ भन्ने नारा सहित एक कार्यक्रमका बीच आज अभियानको घोषणा गरिएको हो । सीआईएनको सभाकक्षमा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले बलात्कारका विरुद्ध देशभरिका सामुदायिक रेडियोसँगको सहकार्यमा सीआईएनले आवाज उठाउँदै आए पनि बलात्कारका घटना न्यूनीकरणका लागि विशेष अभियानको आवश्यक्ता महसुस गरिएको बताउनुभयो ।

सीआईएनका म्यानेजर दीपक आचार्यले देशभरि बालिका बलात्कारको घटना बढ्दै गएकाले बलात्कार विरुद्ध चेतना जगाउनुपर्ने आवश्यकता देखिएकाले विशेष अभियानको सुरुवात गरिएको बताउनुभयो । प्रतिनिधिसभाका सदस्य शशी श्रेष्ठले सबै जना मिलेर बलात्कार विरुद्ध सचेतना जगाउनु पर्ने धारणा राख्दै बलात्कार विरुद्ध चेतना जगाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले पाठ्यक्रममा नै महिला हिंसा विरुद्धका सामग्री समावेश गर्नुपर्ने बताउनुभयो । संसदबाट निरन्तर रुपमा बलात्कार विरुद्ध बोलिरहेको बताउदै सांसद श्रेष्ठले बलात्कार विरुद्ध भएको कानुनलाई कार्यान्वयन गराउनमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधिसभाका सांसद मिनाक्षी झाले बलात्कार विरुद्धको ऐन कानुन भएपनि कार्यान्वयनको पाटो फितलो भएकाले बलात्कारका घटना कम हुन नसकेको बताउनुभयो । सडक र सदन दुबैतिरबाट बलात्कार विरुद्धमा आवाज उठाए यस्ता घटना कम हुने उहाँको विश्वास थियो । मनोचिकित्सक डाक्टर पशुपति महतले बलात्कारका समाचार लेख्दा र प्रसारण, प्रकाशन गर्दा पत्रकारले पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो । बलात्कारका घटना कम गराउनको लागि पीडितलाई मात्रै नभई पीडकहरुलाई पनि परामर्श दिनुपर्ने बताउनुभयो ।

अर्का मनोविद तथा अधिवक्ता नानी थापाले बलात्कार विरुद्धका कानुनहरुका बारेमा सञ्चार माध्यमले प्राथामिकताका साथ सूचना तथा जानकारीहरु दिनुपर्ने टिप्पणी गर्नुभयो । सञ्चार माध्यमहरुले पीडितका कुरा मात्रै भन्दा पनि पीडितले न्याय पाएको र पीडकले सजायँ पाएका विषय पनि समावेश गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कुरुदय सेल्फ डिफेन्स मार्सल आर्ट्का महासचिव सुरेन्द्रसिंह बिष्टले अलिकति तालिम लिए महिला तथा बालबालिकाले आफ्नो सुरक्षा आफैँ गर्न सक्ने भएकाले सञ्चार माध्यमले आत्मरक्षाका त्यस्ता तरिका सिकाउन पनि भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा बलात्कार विरुद्धको अभियान्ता साबित्री सुवेदीले साना नानीदेखि वृद्धाहरु पनि बलात्कार हुनु दुःखद भएको भन्दै बलात्कार विरुद्ध प्रहरी, सांसद र पत्रकारले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । बलात्कारीलाई फाँसीको सजायँ हुने व्यवस्था नबनेसम्म बलात्कारका घटना कम नहुने भन्दै सुबेदीले बलात्कारीलाई फाँसीको सजायँको व्यवस्था हुुनुपर्ने धारणा राख्नुभयो । अर्का अभियान्ता सन्ध्या विडारीले महिला तथा बालबालिकालाई हेर्ने पुरातनवादी सोच नबदले सम्म बलात्कारका घटना कम नहुने धारणा राख्नुभयो । यस्तै अभियान्ता जस्मिन ओझाले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा महिलाअधिकारकर्मी रिता साहले बलात्कारका घटना कम गर्न पाठ्यक्रममा नै यस्ता विषय समावेश गरी सानो उमेरदेखि नै यसबारेमा जानकारी गराउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकार, सांसद, अधिकारकर्मी ,मनोचिकित्सक लगायतले बलात्कार विरुद्धको यो अभियानमा आ–आफ्नो क्षेत्रबाट साथ दिने प्रतिवद्धता जनाएका छन् । अभियानमा बलात्कार विरुद्ध सचेतना कार्यक्रम चलाउने, बलात्कार विरुद्धका कानुनहरु रेडियोबाट प्रसारण गर्ने, स्थानीय तहका जनप्रतिनिधि देखि संघीय संसदका सांसदहरुलाई बलात्कार विरुद्धको प्रतिवद्धता लिने सीआईएनका म्यानेजर आचार्यले जानकारी दिनुभयो । सिआइएनले बेला बेलामा यस्ता अभियानहरु संचालन गर्दै आएको छ । भर्खरै मात्र बालबिवाहका विरुद्ध पनि सय दिने अभियान सम्पन्न भएको पनि आर्चायले बताउनु भयो ।