सञ्चारकर्मी सचेत हुनुपर्छः शिक्षामन्त्री

0
Shares

काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सञ्चारकर्मी सचेतपूर्वक लाग्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम उहाँले अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिता क्षेत्रमा विकृति रोक्नु पर्नेमा जोड दिनुभयो । “समाज रुपान्तरणका लागि पत्रकारिता पेशा व्यवस्थित, मर्यादित र अनुशासित हुनुपर्छ”–मन्त्री पोखरेलले भन्नुभयो, “अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारितामा विकृति ल्याउन हुन्न, त्यसतर्फ सबै सञ्चारकर्मी सचेत हुनुपर्छ ।”

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहिता र अपराध संहितामा उल्लेखित प्रावधानमा केही कमजोरी रहेको स्वकार्दै उहाँले त्यसलाई आवश्यकताअनुसार परिमार्जन गर्न सकिने बताउनुभयो । संहिताको विरोधमा सञ्चारकर्मी र चिकित्सक आन्दोलित बनेकाप्रति संकेत गर्दै मन्त्री पोखरेलले हतारमा आन्दोलन गरिहाल्नु आवश्यक नरहेको पनि धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता हरि दाहाल, ललितपुरका निर्वाचन क्षेत्र नं ३ ९क० का प्रदेशसभा सदस्य राजकाजी महर्जन, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेलगायतले पत्रकारिता समाज परिवर्तनका बाहक भएको भन्दै जिम्मेवार भएर सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

चार पत्रकार पुरस्कृत

कार्यक्रममा ‘कृष्णसेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी पुरस्कार’ पत्रकार रोशन पुरी र ज्ञानप्रसाद पौडेललाई प्रदान गरिएको थियो । त्यस्तै ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार’ पत्रकार आस्था केसी र सागर न्यौपानेलाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु १५/१५ हजार रहेको छ । यसैगरी पत्रकार राजकुमार सिग्देल र प्रशान्त मालीलाई पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।
रासस