कर्मचारीको जनप्रतिनिधिलाई चार गोल

0
Shares

काभ्रे ।
नतिजामुखी प्रशासनः समृद्धि र शुसासन भन्ने नाराका साथ काभ्रेपलाञ्चोक जिल्लामा १५ औं निजामती सेवा दिवस जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरी मनाईएको छ ।


निजामती कर्मचारीहरुले जनप्रतिनिधिलाई गोल हान्न थालेपछि ब्यङ्गात्मक शैलीमा वर्तमान अवस्था प्रति चित्रण गरिएको थियो । प्रतियोगितामा कर्मचारीहरुले जनप्रतिनिधिहरुलाई शुन्यका विरुद्ध चार गोल गरेका थिए । अफ साईडमा तीन गोल गरेका कर्मचारीहरुको गोललाई मान्यता दिईएको थिएन । कर्मचारीहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नेतृत्व गरेका थिए भने जनप्रतिनिधिहरुको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले नेतृत्व गरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का, विभिन्न कार्यालयका प्रमुखहरु, नगरपालिका प्रमुख प्रशासकिय अधिकृतहरु, विभिन्न तहका कर्मचारीहरु उक्त प्रतियोगितामा सहभागि भएका थिए । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, गाउँपालिका अध्यक्षहरु, समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, उपप्रमुखहरु तथा उपाध्यक्षहरु, वडा अध्यक्षहरु, सदस्यहरु प्रतियोगितामा सहभागि भएका थिए । कर्मचारी र जनप्रतिनिधिहरु समेत गरी ४४ जना खेलाडी सहभागि गराईएको थियो ।


फुटबल प्रतियोगिता अघि निजामती कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको नेतृत्वमा धुलिखेलको सरस्वती बजार देखि फुटबल मैदानसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।