सभामुख श्रेष्ठ गरे निजामती कर्मचारीलाई नतिजामुखी काम गर्न आग्रह

0
Shares

हेटौंडा ।
प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठले नतिजामुखी काम दिने प्रशासन आवश्यक रहेको बताउनुभएको छ । निजामती सेवा दिवस मूल समारोह समिति प्रदेशको आयोजनामा ‘नतिजामुखी प्रशासन समृद्धि र सुशासन’ भन्ने मूल नारासाथ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्र र प्रजातन्त्र भनेको अराजकता नभएर काम गर्ने समय भएको बताउनुभयो ।

कर्मचारीलाई प्रदेश कानुन निर्माणमा ध्यान दिन आग्रह गर्दै उहाँले प्रश्न गर्नुभयो–प्रदेशमा एक सय ९९ वटा कानुन निर्माण गर्नुपर्ने हुन्छ । हालसम्म सरकार गठन भएपछि केही कानुनमात्र निर्माण भएका छन् । अरु कानुन कहिलेसम्म निर्माण गरिसक्नुहुन्छ ?

पाँच वर्षसम्म कानुनमात्र निर्माण गर्ने भए अरु काम कसरी गर्न सकिन्छ भन्ने विषयमा सभामुख श्रेष्ठले प्रश्न गर्नुभयो । निजामती कर्मचारीले सधंै उत्साह र उमंगसाथ काम गर्नुपर्ने भन्दै उहाँले अरुबाट होइन, परिवर्तन आफैंबाट गर्न आग्रह गर्नुभयो । निजामती कर्मचारी स्थायी सरकार भएकाले देखिने काम गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कार्यालय सहयोगीदेखि सचिवसम्मका कर्मचारीलाई जनतामुखी काम गर्न आग्रह गर्नुभयो । अब कर्मचारीका ट्रेड युनियनले आन्दोलन गर्ने नभएर काम गर्ने बेला आएको उहाँले सुझाव दिनुभयो ।

वर्तमान सरकार कसैले बनाइदिएको नभएर आफैं केही गरुँ भनेर जनताका निम्ति काम गर्ने सरकार भएको बताउँदै उहाँले भन्नुभयो–वर्तमान सरकार झ्यालबाट आएको नभई मूलढोकाबाट फूलमाला र घडासहित आएकाले अब पाँच वर्षसम्म नागरिकका निम्ति काम गरेर देखाउनेछ ।

कार्यक्रममा सभापति प्रदेश प्रमुख सचिव आनन्दराज ढकालले निजामती सेवालाई परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । आमजनताले चाहना गरेअनुसार कर्मचारीले काम गर्नुपर्ने उहाँले बताउनुभयो । निजामती सेवा जनतामुखी र सूचना प्रविधिमैत्री हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, आधिकारिक टे«ड युनियन मकवानपुर अध्यक्ष विष्णुप्रसाद अर्याललगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । मुख्यमन्त्री कार्यालयको प्रांगणमा कार्यक्रम हुनुअघि हेटौंडाको बुद्धचोकबाट ¥यालीसहित बजार क्षेत्र परिक्रमा गरिएको थियो ।