इलाम कारागारमा खानेपानीको अभाव

0
Shares

इलाम ।
इलाम कारागारमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभाव हुँदा कैदीबन्दी र कर्मचारी समस्यामा परेका छन् । नगरपालिकाले कारगारलाई २४ घण्टा उपलब्ध गराउने भनेको खानेपानी पूरा समय कहिल्यै नआउने गरेको कारागार प्रशासनले जनाएको छ ।
कारागारलाई पानी अभाव हुन नदिन दुईवटा पाइपबाट दिइरहेको पानी नगरपालिकाका कर्मचारीले एउटा पाइपमै सिमित गरिदिएपछि अहिले कारागारमा टयाङ्करको पानी उपभोग गर्न बाध्य भइरहेका छन् । दुईवटा धारा जडान गरिदिने भनेको नगरपालिकाले एउटा २० एमएमको पाइपमा दुईवटा मिटर जोडिदिएर टारेको कारागार प्रमुख भक्तबहादुर खड्काले बताए । अहिले कारागारमा नगरपालिकाले दिने बाहेक महिनामा आठ ट्याङकरभन्दा बढी पानी किन्नु परिरहेको उनले बताए । हाल महिनामा प्रति ट्याङ्कर दुईहजार चार सय रुपैयाँको दरले १९ हजार २०० रुपैयाँ बराबरको खानेपानी महिनामा कारागारले बाहिरबाट खरिद गरिरहेको छ ।
यो बाहेक नगरपालिकालाई महिनामा १७ देखि १८ हजार महसुल बुझाउँदै आएको पनि कारागारले जनाएको छ । कारागारमा अढाई सय बढि कैदिबन्दि सहित कर्मचारी, सुरक्षा गार्ड सहित तीनसय जना रहेका छन् ।