गणेश घिमिरे, इलाम ।
जिल्लाको मावि र उच्च मावि तहमा शिक्षक दरबन्दि सबैभन्दा बढि रिक्त रहेको छ । मावि तहमा ४ सय ४५ जना शिक्षक दरबन्दि आवश्यक भएपनि हाल स्विकृत र राहात दरबन्दि गरेर जम्मा २ सय ७९ जना मात्र शिक्षक कार्यरत रहेका छन् । बाँकी १ सय ६६ जना शिक्षकको दरबन्दि रिक्त रहेको छ ।
यस्तै उच्च मावि तहमा २ सय ८८ जना दरबन्दिका शिक्षकको आवश्यक भएपनि हाल स्विकृत र राहात दरबन्दि गरेर जम्मा ७५ जना शिक्षक मात्र कार्यरत रहेका छन् । बाँकी २ सय १३ जना शिक्षकको दरबन्दि रिक्त रहेको छ । शिक्षामा नयाँ संरचना अनुसार कक्षा १–८ लाई आधारभूत र ९–१२ लाई माध्यमिक तह बनाइएपनि शिक्षक दरबन्दीको संरचना भने पुरानै रहेको छ । शिक्षक दरबन्दी प्राबि, निमावि, मावि र उच्च मावि तहकै रहेको जिल्ला शिक्षा समन्वय इकाइका शाखा अधिकृत डम्बर बहादुर सुवेदीले बताए । ‘प्राबि तहमा भने शिक्षक दरबन्दि चाहिने भन्दा बढि रहेको छ’ सुबेदीले भने ‘प्राबि तहमा स्विकृत दरबन्दी १३ सय ८७ र राहात दरबन्दी एकसय ८४ गरी जम्मा १५ सय ७१ जना रहेका छन्,प्राबि तहका लागि भने ११ सय ३४ जना मात्र शिक्षक दरबन्दी आवश्यक छ, तर ४ सय १७ जना शिक्षक दरबन्दी बढि रहेका छन् ।’ बढि भएका शिक्षकलाई आधारभूत र मावि तहमा तानेर पठन पाठन गराउन लाइरहेको बताइएको छ ।
निमावि तहमा भने स्विकृत शिक्षकको दरबन्दी २ सय ५५ र राहात दरबन्दी १ सय ७३ गरी ४ सय २८ जना छन् । तर आवश्यक दरबन्दी भने ६ सय ४० जना शिक्षकको रहेकोमा हाल २ सय १२ जना दरबन्दीका शिक्षक अपुग रहेका छन् । इलाम जिल्लामा चारसय वटा सामुदायिक बिद्यालय रहेका छन् । प्राबि तहमा आवश्यक भन्दा बढि भएको शिक्षकको ब्यबस्थापन र अन्य तहमा चाहिने भन्दा कम दरबन्दीका शिक्षक भएपछि थप पदपूर्तीका लागि सम्बन्धित निकायमा पटक–पटक जानकारी गराएपनि चासो नदिएको बताइएको छ ।











प्रतिक्रिया