अलैंची टिप्ने चटारो किसानलाई गाउँमा खेताला पाउनै मुस्किल

0
Shares

गणेश घिमिरे, इलाम ।
इलाम सहित पूर्वी पहाडी जिल्लाका किसान यतिखेर अलैंची टिप्न थालेका छन् । इलामका किसानले भदौको पहिलो साताबाटै अलैंची टिप्न थालेका छन् । सबैतिर अलैंची टिप्ने चटारो किसानलाई परेको छ । दिनभर अलैंची टिप्न व्यस्त हुने कृषकहरु रातमा पनि जाग्राम नै हुने गरेका छन् । राति अलैंची छोडाउने काम गर्दछन् ।

अलैंचीको उच्पादन सुरु भएपछि इलाम सहित अलैंची खेती गर्दै आएका पूर्वी पहाडका किसानलाई दशैं तिहार सम्मै भ्याइ नभ्याइ हुने गरेको कृषकहरु बताउँछन् । अलैंची पाक्न नपाउँदै चरा मुसाले खाने भएकाले टिपाइमा ढिला गर्न नहुने माईजोगमाई गाउँपालिका ३ का कृषक लाक्पा योल्मुले बताए । ‘अलैंचीको सिजनमा बगानबाटै चोरी हुने खतरासमेत बढी हुन्छ’ योल्मु भन्छन् ‘बर्षेनि अलैंची पाक्न नपाउँदै मान्छेले चोर्ने क्रम बढिरहेकोले अलैंची टिपाई धमाधम भइरहेको छ ।’ कतिपय कृषकले दशैं अगावै काँचै नसुकाईकन बिक्रि गरेर घरखर्च टार्ने गरेका छन् भने कतिपयले दशैं तिहारपछि बिक्रि गर्ने गरेका छन् । बढिजसो अलैंची उत्पादन गर्ने कृषकले दसैं सकिए लगत्तै कमाई भित्राउन व्यस्त हुने गर्दछन् ।

अलैंची टिप्ने चटारोले घरमा आउने–जानेसँग गफगाफ गर्ने फुर्सद समेत हुन छाडेको कृषकहरु बताउँछन् । जिल्लामा कतै टिप्न कतै भट्टी लगाउन व्यस्त छन् । एकातिर यतिबेला चाडपर्व शुरु भइसकेको छ भने अर्कोतिर गाउँघरमा खेताला समेत पाउन मुक्किल पर्दै गएको छ । त्यसैलै बर्षेनि खेतालाको ज्याला बढ्दो छ । ज्यालामा एकरूपता छैन । यो बेला अलैंची टिप्न सीप हुनेले राम्रो आम्दानी गर्छन् । अलैंची टिप्न ढिलाइ गरे बोट र फल दुवै बिग्रने भएकाले ज्याला धेरै दिएर भएपनि टिप्न लगाउनुपर्ने वाध्यता रहेको कृषकहरु बताउँछन् ।
अलैंचीको भाउ कुनै समय प्रतिमन एकलाख २० हजार पुगेको थियो भने अहिले प्रतिमन २५÷३० हजार रुपैंयाँको हाराहारीमा छ । अलैचीको भाउ घटबढ भइरहन्छ । जिल्लामा १ हजार ६ सय हेक्टरमा अलैंची खेती गरिएको छ । वार्षिक ५ सय ५८ मेट्रिक टन उत्पादन हुने अलैंचीबाट १ अर्ब ५ करोड आम्दानी हुन्छ । यो वर्ष उत्पादन बढ्ने कृषकको भनाइ छ ।