राेल्पाको पिडाः मेडिकलमा लैजान पनि दुई घण्टा बोक्नुपर्ने बाध्यता

0
Shares

नरेन्द्र केसी, दाङ ।
रोल्पाको परिवर्तन गाउँपालिका ५ मौलाकोटकी ७० बर्षीया डिलासा राना विरामी पर्नुभयो । केही दिन त सञ्चो होला भनेर परिवारका सदस्यहरुले घरमै स्याहारसुसार गरे तर सञ्चो भएन । अब आपत आइलाग्यो, यो बर्षातमा विरामीलाई कहाँ पु¥याउनु । छोराले केही सहयोगीको साथमा डोकोमा बोकेर दुइ घण्टा टाढा बाघमारा पु¥याउनुभयो, त्यो पनि निजी क्लिनिकमा ।

डिलासाले पाएको दुःख यहाँका बासिन्दाले पाएको न पहिलो हो, न अन्तिम । अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाको साझा समस्या यो हो । ‘यति लामो बाटोमा पैदल हिडाए ल्याए पनि एउटा गतिलो सरकारी अस्पताल भए त हुन्थ्यो नि’– डिलासाका छोरा प्रेम रानाको गुनासो छ– ‘त्यही पनि निजी क्लिनिङमा उपचार गराउनुपर्छ ।’ यो ठाउँमा एउटा सामुदायिक स्वास्थ्य इकाइ छ तर विरामी जति क्लिनिकमै जान्छन् । अहेब, अनमि र ल्याब सेवासहितको इकाइ भए पनि निजी क्लिनिकमै राम्रो उपचार हुन्छ भनेर धेरै विरामी सरकारीमा जाँदैनन् ।

यो गाउँपालिका पाँच स्थानमा स्वास्थ्य चौकी रहे पनि खासै प्रभावकारी सेवा दिन सकेको देखिएको छैन । योसहित रोल्पाको उत्तरी क्षेत्रमा एक्सरे, भिडियो एक्सरेसहितको अस्पताल सुविधा छैन । साविक पाछावाङ, राङकोट, राङ्सी, इरिवाङ र कुरेली गाविस मिलेर बनेको परिवर्तन गाउँपालिकामा ठूलो जनसंख्या रहे पनि यहाँका बासिन्दाले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

यो गाउँपाकिलाका तातापानी, जरेनी, हलहले, सिजाखोलालगायतका माथिल्लो भागका बासिन्दा रुकुम जिल्ला अस्पतालमा उपचारका लागि जाने गरेका छन् भने बाँकी दाङ वा लिवाङ जानुपर्ने बाध्यता छ । सानोतिनो उपचार नजिकको घर्तीगाउँ पुगेर पनि लिने गरेका छन् । तर, बर्षातमा सडक राम्रोसँग सञ्चालन नहुँदा विरामीलाई बाहिर लैजान पनि समस्या छ । गाउँगाउँमा निर्माण गरिएका कृषि सडक भत्किएर मोटरसाइकलसमेत चल्न नसक्ने भएपछि गाउँबाट विरामी बोकेरै ल्याउने गरिएको स्थानीय नरसिंह ओलीले जानकारी दिनुभयो ।

गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी र केही बर्थिङ सेन्टर तथा सामुदायिक स्वास्थ्य इकाइ रहे पनि माथिल्लोस्तरको अस्पताल स्थापना गर्न नसकिएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ । हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीति रहे पनि यसबारे थप कुनै जानकारी नआएको उहाँले बताउनुभयो । यो गाउँपालिकाका कुरेली, राङ्सी, पाछावाङ, केउरी र राङकोटमा स्वास्थ्य चौकी छन् । त्यस्तै ओभाङमा बर्थिङ सेन्टर र बाघमारामा सामुदायिक स्वास्थ्य इकाइ राखिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । नेपाल सरकारले दिने नियमित औषधिको अभाव हुन नदिएको र विरामी बाहिर लैजाँदा सहयोग पुगोस् भनेर एम्बुलेन्स खरिदको सोंच बनाइएको उहाँले बताउनुभयो ।