तातोपानी नाकामा ‘ग्रीन सिग्नल’

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका आगामी मे महिनादेखि (८ महिनापछि)संचालनमा आउने चर्चा चलिरहँदा चिनीयाँ अधिकारीहरुको जम्बो टोलीले सीमाक्षेत्रको स्थलगत निरीक्षण गरेको छ । तिब्बत सरकारका भाईस सेक्रेटरी जनरल छुयाङ लिउको नेतृत्वमा प्रशासनिक अधिकारीहरु तथा प्राविधिकहरु सम्मीलत ३९ सदस्यीय चिनीयाँ टोलीले तातोपानीको मितेरीपुलदेखि बाह्रविसे बजारसम्मको स्थलगत निरीक्षण गरेपछि ०७१ सालको जुरे पहिरोदेखि नै ठप्प रहेको यो नाका संचालनमा आउने संकेत देखिएको हो ।

नेपाल–चीन दुवै देशका अधिकारीहरुले सीमाक्षेत्रको सडक तथा अन्य पूर्वाधारहरुको स्थलगत निरीक्षण गरेपछि सीमावासीमा नाका खुल्ने आशा जागेको छ । सीमाक्षेत्रको सडक तथा अन्य पूर्वाधारहरको निरीक्षणका लागि आएको चिनीयाँ अधिकारीहरुलाई यसक्षेत्रका स्थानीय जनता, व्यापारी, व्यवसायी एवं स्थानीय सरकारका प्रतिनीधिले भव्य स्वागत र सम्मान समेत गरे । तिनवर्षदेखि बन्द रहेको नाका संचालन गर्नुपूर्व सडक र अन्य भौतिक पूर्वाधारहरुको निरीक्षणका लागि भूगर्भ तथा वातावरण विभागका प्राविधिकहरु सहितको चिनीयाँहरुको जम्बो टोली सीमाक्षेत्रमा आएपछि नाकावासीमा आशा जागेको हो ।

]
सीमाक्षेत्रको निरीक्षणमा सहभागि नेपाली अधिकारीहरुका अनुसार चिनीयाँ टोलीले केन्द्र सरकारलाई प्रतिवेदन बुझाएपछि तातोपानी नाका कहिलेदेखि सञ्चालन हुने भन्ने टुंगो लाग्ने छ । तिब्बत सरकारका प्रतिनीधि छुआन लिउ, वाणिज्य विभागका डेपुटी महानिर्देशक पिङ वाङ, तिब्बत सरकारका भौगोलिक तथा वावरण विभागका प्रतिनीधि कियाङ लु लगायत ३९ जना चिनीयाँ अधिकारी र प्राविधिक टोलीले बाह्रविसेदेखि मितेरी पुलसम्मको अवस्था निरीक्षण ग¥यो । लार्चामा निर्माणाधिन सुख्खा बन्दरगाहको समेत स्थलगत निरीक्षण गरि उनीहरु फर्कीए । निरीक्षणमा आएको चिनीया टोलीले नाका संचालनका लागि सडक नै मुख्य समस्याका रुपमा लिएको नेपाली अधिकारीहरुले बताएका छन् ।

स्थलगत निरीक्षणपछि नाका संचालनमा आउने आशा जागेको सिन्धुपाल्चोक उद्योग वाणीज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ बताउँछन् । आगामी मे महिनाबाट नाका खुल्ने कुरा उठिरहँदा स्थलगत निरीक्षणका लागि चिनीयाँ अधिकारीहरु आउनु सुखद भएको उनी सुनाउँछन् । चिनीयाँहरुले सडकलाई नै समस्याका रुपमा लिइरहेको बताउँदै नेपालतर्फको सडक र अन्य भौतिक पूर्वाधार निर्माणमा नीजि क्षेत्रले पनि सघाउ गर्ने उनले बताए । ‘जुरेपहिरोमा हिजो हामीले नै सडक छिचोल्यौं, नाका खुल्ने हो भने हामी सडक र पूर्वाधार निर्माणमा सघाउन तयार छौं’, उनले भने । तातोपानी नाका बन्द भएपछि रसुवागढी छिरेका ब्यापारी व्यवसायीहरु नेपाल चीनबीचको व्यापारका लागि तातोपानी नाका जस्तो सहज र छोटो नाका अरु नभएको बताउँछन् ।
रसुवागढी नाका पनि बन्द भएपछि दशैं लक्षित समाना चिनीयाँ भुभागमै अलपत्र परिरहेको र ब्यापारी व्यवसायीहरु अन्योलमा परिरहेका बेला तातोपानी नाकामा चिनीयाँ अधिकारीहरुको निरीक्षणले आशाका किरण जागेको नेपाल हिमालय सिमापार वाणिज्य संघका सचिव झक्त पराजुली बताउँछन् । ‘यो निरीक्षणले अब तातोपानी नाका यथासक्य छिटो सञ्चालन हुन्छ भन्ने आशा जागेको छ, विश्वास बढेको छ’, उनले भने,–‘दुई देशबीच सहमति समझदारी भएर तातोपानी नाका छिट्टै खुल्नुपर्दछ ।’

सुख्खा बन्दरगाहः ४० प्रतिशत काम सम्पन्न
निरीक्षणका लागि आएको टोलीसमक्ष सुख्खा बन्दरगाह निर्माणको काममा भइरहेको प्रगतीबारे निर्माण पक्षले जानकारी गराएको छ । स्थलगत निरीक्षणका लागि आएको टोलीलाई हालसम्मको कार्यप्रगतीबारे निर्माण पक्षले जानकारी गराएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल ईन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए । ‘लगभग ४० प्रतिशत काम सम्पन्न भइसकेको छ, फागुनभित्र निर्माण सम्पन्न भइसक्ने छ’, कार्यकारी निर्देशक बस्नेतले भने,–‘प्रशासनिक भवन, आवास र गोदाम निर्माण सम्पन्न भइसकेको छ, शौचालय र खानेपानीको पनि काम भइसक्यो ।’ सुख्खा बन्दरगाह निर्माणको काम तिव्रतर गतिमा भइरहँदा स्थानीय सर्वसाधारण र ब्यापारी व्यवसायीहरु तातोपानी नाका संचालन हुनेमा आशावादी देखिएको उनी बताउँछन् ।