झापामा बालिका बलात्कारको घटना भयावह

0
Shares

भद्रपुर ।
झापामा बालिका बलात्कारको घटना भयावह बन्दै गएको छ । अघिल्लो बर्षहरुमा भन्दा यो बर्ष बलात्कारको घटनामा अस्वभाविक रुपमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक बर्ष २०७२।७३ को ६ महिनामा भएको बलात्कारको घटनाको जति सङ्ख्या चालु आर्थिक बर्षको ५० दिनमा पुगेपछि बलात्कारको घटना भयावह बन्दै गएको प्रमाणित भएको छ । आर्थिक बर्ष २०७२।७३मा झापामा ७२ वटा बलात्कारको घटना भएको प्रहरीले जनाएको छ । चालु अर्थिक बर्षको ५० दिनमा यो संख्या ३५ पुगेको छ ।

यसैगरी आर्थिक बर्ष २०७३।७४ मा ७४, २०७४।७५ मा १ सय ३३ र चालु आर्थिक बर्षको ५० दिनमा बलात्कारको घटना ३५ वटा दर्ता भएको झापाका एसपी भिमप्रसाद ढकालले जानकारी दिए । उनले बिगत बर्षहरुको तुलनामा बलात्कारका घटना अस्वभाविक रुपमा बढिरहेको बताए ।
डर, त्रास देखाएर, बिवाहको प्रलोभन, आर्थिक प्रलोभन, जवरजस्ती करणी, शरिर बन्धक बनाई, जनचेतनाको कमीका कारण, सामाजिक सञ्जालको दुरुपयोग, मनौबैज्ञानिक र भावनात्मक ब्ल्याकमेलिङ गरेर बलात्कारको घटना हुने गरेको एसपी ढकालले बताए । उनले १६ बर्ष मुनीका धेरै बालिका बलात्कारको शिकार हुने गरेको बताउँदै पीडक भने १६ देखि ३० बर्षको उमेरका धेरै हुने गरेको पाइएको जानकारी दिए ।
गाउँ भन्दा शहरमा बलात्कारका घटना धेरै हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । शहरका होटलमा कडा नियम लागू गर्न सके बलात्कारका घटना केही हदसम्म नियन्त्रणमा आउन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कारका घटना न्युनिकरणका लागि टोल टोलमा प्रहरी गस्ती गर्न थालेको छ । प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले भदौ ३ गतेदेखि सादा पोषाकमा ५० जना सहित गाउँ शहरका भित्रि टोलमा २ सय ३५ जना प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले ब्यापक रुपमा प्रहरी परिचालन गरेको बताइरहेका समयमा पनि बलात्कारका घटना भइरहेका छन् । बलात्कार नियन्त्रणका लागि प्रहरी परिचालन भएपछि पनि अर्जुनधारा नगरपालिका ७ मा एकजना एकल महिलामाथि बलात्कारको प्रयास भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का झापा प्रतिनिधी अर्जुन बस्नेतले इन्टरनेटको सहज पहुँचका कारण बलात्कारका घटना बढेको बताउँछन् । युवाहरुमा इन्टरनेटको माध्यमबाट अश्लिल चलचित्र हेर्ने क्रम बढेको कारण उनीहरुमा आपराधिक मानसिकता बढेसँगै बलात्कारका घटना पनि तेब्बर बढेको उनको अनुभव छ । टोल टोलमा प्रहरी परिचालन गरेर बलात्कारको घटना न्यूनिकरण नहुने बताए।
चोरीगर्ने, झगडा गर्ने जस्ता सामाजिक वितण्डामा संलग्न हुने गरेका युवाहरु पीडक हुने गरेका छन् । एकचोटी बलात्कारको प्रयास गरेको अभियुक्तलाई उसको घरका सदस्यले संरक्षण गरेको घटनाबाट प्रेरित हुने हनाले दोस्रो पटक घटना गराएको पाइएको छ ।
अधिकांस घटनामा आफन्तबाट नै बालिकाहरु असुरक्षित भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । धेरैजसो पीडितका अभिभावकले बिश्वास गरेका संरक्षकबाट नै यस्ता घटना हुने गरेको पाइएको छ ।