सरकारी जागिरपछि व्यावसायिक कृषि खेतीमा

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
निजामति सेवामा जागिरको अवधि सकिएपछि यहाँका एकजना व्यक्ति व्यावसायिक कृषि खेतीमा लागेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, फुर्केसल्लाका मुक्तिबहादुर खड्का सरकारी जागिरको समय अवधि सकेर व्यवसायिक कृषि खेतीमा आबद्ध भएका हुन् ।
सरकारी जागिरबाट पेन्सन निस्किएपछि उनले खेत तथा बारीमा व्यावसायिक रुपमा तरकारी र फलफुल खेती लगाएका छन् । उनले पाँच रोपनीको जग्गामध्ये एक रोपनीमा टनेलभित्र गोलभेंडा खेती गरेको बताए । जागिर सकिएपछि दुई वर्षअघि कृषि सुरु गरेका उनले ओनसरी जातको गोलभेंडा खेती गरेको बताउँदै हालसम्म ९ क्वीन्टलभन्दा बढी गोलभेंडा बिक्री गरेको जानकारी दिए ।


अन्य जातको तुलनामा ओनसरी नामक गोलभेंडाले उत्पादन धेरै दिने भएपछि आफूले यसको उत्पादन गर्न थालेको कृषक खड्काले बताएका छन् । उनका अनुसार यो गोलभेंडाको एउटै हाङ्गामा १० ओटासम्म गोलभेंडा फल्ने गरेको छ भने एउटै गोलभेंडाको तौल ५ सय ग्राम पुग्छ । यसपटक ४ सयवटा बोट गोलभेंडा लगाएका उनले ९ क्वीन्टल बढी बिक्री गर्दा २६ हजार रुपैयाँ आम्दानी गरेको अनुभव सुनाए । अझै टनेलभित्र १५ हजार बढीको गोलभेंडा रहेको उनको भनाइ छ ।


गाउँमै सरदरमा ४५ रुपैयाँमा बिक्री हुने गोलभेंडा बजारमा भने ४० रुपैयाँ प्रतिकेजी मुल्य पर्ने गरेको कृषक खड्का बताउँछन् । फुर्केसल्लामा उत्पादन भएको गोलभेंडा तथा तरकारी गाउँमै बिक्री वितरण हुनुका साथै बगुवाखोला, सिङ्गा, तातोपानी र बेनीबजारमा बिक्री हुने गरेको छ । यसअघि म्याग्दी जिल्लामा लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा हाइटेक प्रविधिको टनेलको प्रयोगमा व्यावसायिक गोलभेंडा खेती गरेको उनले जानकारी दिएका छन् ।


उमेरले ६२औं बसन्त पार गर्दै गरेका खड्काले तरकारी खेतीसँगै एक रोपनीमा सुन्तला र कागती, दुई रोपनीमा केरा र एक रोपनीमा खुर्सानी, बेसार, अदुवा, लसुन, प्याज र आलु खेती गरेका छन् । उनीसँग हाल ७० घारी केरा मात्रै रहेको छ । म्याग्दीकाली तरकारी ब्लक समितिका अध्यक्ष समेत रहेका खड्का वर्षमा १५ क्वीन्टलसम्म आलु उत्पादन गर्ने गरेको बताउँदै ६० हजार रुपैयाँ आम्दानी हुने बताए । उनले गोलभेंडा, आलु, फलफुल र तरकारी खेतीबाट वार्षिक रुपमा डेढलाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

तरकारी र फलफुल खेतीसँगै कृषक खड्काले दुध बिक्रीका लागि भैंसी पनि पालेको बताए । दैनिक उनले १० लिटर दुध बिक्री गर्ने बताउँदै मासिक २० हजारबढी दुधबाट आम्दानी हुँदै आएको बताएका छन् । उनलाई वडा कार्यालयले टनेल, संगम म्याग्दीले कृषिसम्बन्धी तालिम तथा कृषि कार्यालयले साना सिचाईंमा सहयोग गरेको थियो ।