दश वर्षसम्म पानीको बिल तिर्दैनन् सरकारी अड्डाहरु

0
Shares

२ करोड ५० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी

विराटनगर ।
मोरङका आधा दर्जनबढी सरकारी कार्यालयले नियमित रुपमा पानीको विल भुक्तान नगरेको पाइएको छ । यसरी नियमितरुपमा विल भुक्तान नगर्दा संस्थानका नियमित कामहरु प्रभावित बन्ने गरेका छन । विराटनगर स्थित खानेपानी संस्थानले वितरण गरेको पिउने पानीको महशुल वापत २ करोड ५० लाख रुपैयाँ बक्यौता उठाउन सकेको छैन । त्यसले गर्दा संस्थानको सेवा विस्तार लगायत नियमित काम गर्नपनि समस्या हुँदै आएको छ ।

यसरी संस्थानलाई पानीको महशुल नतिर्नेमा सरकारी संस्थानहरु सबैभन्दा अग्रस्थानमा रहेका छन् । सरकारी कार्यालयहरुकै कारण संस्थानको बक्यौता चुलिएको देखिएको छ । सुनसरी मोरङ सिचाई योजनाले पछिल्लो १० वर्षदेखि खानेपानीको बिल तिरेको छैन । योजनाले संस्थानलाई ३२ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । सुनसरी मोरङ सिंचाई योजना परिसरमा ११ ओटा धारा जडान गरिएको छ । संस्थानले खानेपानीको बक्यौंता बुझाउन पटक पटक पत्रचार गर्दासमेत सिचाईले महशुल नबुझाएको संस्थानले जनाएको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालयल मोरङको नाममा ३७ लाख ६१ हजार ५ सय ४४ रुपैयाँ बक्यौंता देखिएको छ । जिल्ला शिक्षा कार्यालयमा दुई वटा धारा जडान गरेको छ ।

यसैगरी विराटनगर महानगरपालिकाको नाममासमेत २२ हजार बक्यौता देखिएको संस्थानले जनाएको छ । व्यक्तिगत उपभोक्ताहरुसंग पनि अधिकतम १ लाख ५० हजारसम्म बक्यौता रहेको संस्थानले जनाएको छ । करोडौं रुपैयाँ बक्यौता उठाउन नसकेर संचालन समस्यामा रहेको खानेपानी संस्थानले आफ्नो पाइपलाइनलाई पनि व्यवस्थित गर्न सकेको छैन । त्यसबाट दैनिक लाखौं लिटर पानी चुहावट भइरहेको छ । अहिले दैनिक ३० लाख लिटर पानी चुहावट हुने गरेको संस्थान स्वयंले जनाएको छ । दैनिक ३ हजार युनिट पानी चुहावट हुँदा संस्थानलाई दैनिक ७५ हजार नोक्सानी परिरहेको छ ।

संस्थानले प्रति युनिट २५ रुपैयाँको दरले उपभोक्तालाई पानी उपलव्ध गराउँदै आएको छ । पछिल्लो समय विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालिन ढल, नाला र सडक योजनाका कारण बढी मात्रामा पानी चुहावट भएको नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख शैलेन्द्रकुमार शाहले बताए । उनले महानगरपालिका भित्र दैनिक १ करोड २० लाख लिटर पानी वितरण गर्दै आएको जानकारी दिए । संस्थानले आर्थिक वर्ष २०७४÷०७५ सम्ममा ११ हजार ५ सय ४५ धारा जडान गरेर सेवा दिदै आएको छ ।