बागलुङमा विद्युतका नाङ्गो तारको व्यवस्थापन हुदैँ

0
Shares

सिर्जना पन्त, बागलुङ ।
बागलुङमा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढेकाले बिजुलीका नाङ्गो तार व्यवस्थापन गर्न थालिएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट र दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्नका लागि नाङ्गो तार विस्थापन गर्न लागेको हो ।

बजार भित्रका शाखा लाईनमा भएको नाङ्गो तारको सट्टा इन्सुलिटेड केवल जडानको काम सुरु भएको छ । बागलुङ बजार क्षेत्र भित्र रहेको साडे ९ किलोमिटर नाङ्गो तार बिस्थापनको काम केन्द्रले नै टेन्डर आह्वान गरी थालेको नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेले बताउनुभयो । अहिले बागलुङ नगरपालिकाको वडा नं १, २ र ३ का सबै बस्ती सम्म बिस्तार भएको प्रसारण लाईनको तार व्यवस्थापन गर्न लागेको पाण्डेले बताउनु भयो । पहिले चार वटा तार हुनेमा इन्सुलिटेड तार एउटै हुने र त्यसमा पनि प्लाष्टिकले बेरिएको हुने भएकाले कसैले छोए पनि करेन्ट नलाग्ने जानकारी दिनुभयो । अबको एक महिना भित्र बजार क्षेत्रमा रहेका नाङ्गो तार हटिसक्ने प्राधिकरणले जनाएको छ । नयाँ तार जडान गर्ने कामको ठेक्का पाएको वाईवा इन्फाटेक कम्पनीले यसै सातादेखी काम थालेको हो । पोल गाड्ने काम केही महिना अघिनै सकेको कम्पनीले तार जडानको काम थालेको कम्पनीका इन्जिनियर शुनिल लामाले बताउनुभयो ।

अव्यवस्थित नाङ्गो तारले जोखिम हुँदा समेत प्राधिकरणले मर्मत सम्भारका लागि बेवास्ता गरेको सर्वसाधारणको गुनासो पनि बढेकाले यसलाई व्यवस्थापन गर्न थालिएको प्राधिकरणले जनाएको छ । बागलुङ सदरमुकाम संगै ग्रामिण भेगका बस्तीमा पनि बाटोमा नै तार लत्रिरहेको भेटिन्छन् । अघिल्लो ३ बर्षको अवधीमा बागलुङमा विद्युतिय लापरवाहीबाट १२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङक छ । त्यस मध्य बढी विद्युत प्राधिरणको लापरवाहीबाट धेरै व्यक्तिको मृत्यु भएको छ । विद्युत कार्यालयले गाडेको पोलमा विद्युत सर्ट भएर ५ जना, कर्मचारी ३ जना, घरमा विद्युत सर्ट भएर २ जना, घर बनाउदा १ जना, माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । यसमा प्राधिकरणले गाडेका पोलमा तार सर्ट भएर बढी मानिसहरुको मृत्यु भएको प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए ।

विद्युतका तार हटाउन थालिएपनि अव्यवस्थित रुपमा रहेका केबुल तथा इन्टरनेटका तारहरुलाई हटाउन नसक्दा बजार क्षेत्र कुरुप बनिरहेको छ । गत जेठ महिनामा बागलुङ नगरपालिकाले १५ दिन भित्र केवुल एवं इन्टरनेटका तार तथा जिर्ण पोलहरु हटाउने बताएपनि अहिले सम्म हटाउन सकेको छैन ।