पाँच वर्षभित्र नेपाल सम्बृद्धः प्रचण्ड

0
Shares

अब विकासमा छलाङ मारिने

हेटौंडा ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्रमा सम्बृद्ध बनाएरै छाड्ने बताउनुभएको छ ।
मकवानपुरको मनहरी–९, रजैयामा रहेको ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सव उद्घाटन गर्दै उहाँले अबका छ महिनाभित्र सरकारको देखिने गरी काम गर्ने योजना रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंको हिलो र धुलो निमिट्यान्न पार्ने बताउनुभयो । वर्षा सकिएपछि काठमाडौंका सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाइने अध्यक्ष प्रचण्डले उद्घोष गर्नुभयो ।
हाल जनता सरकारप्रति खुशी नदेखिएको बताउँदै उहाँले भन्नुभयो–काठमाडौंकै सडक हिलो र चिप्लो भएको देखेर जनता निराश छन् । वर्षा सकिने बित्तिकै सडक राम्रो बनाउँछौं, अनि नागरिकको निराशा कम हुनेछ ।
अध्यक्ष दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओली र आफूबीच विकास निर्माणका विषयमा छलफल भइरहेकाले अब विकास निर्माणका कामले गति लिने दाबी गर्नुभयो । अब विकासमा छलाङ हान्ने बेला भएको भन्दै अध्यक्ष दाहालले रोजगारीका अवसर सिर्जना गरी मुलकलाई सम्बृद्ध बनाइने बताउनुभयो ।

‘पूर्वपश्चिम रेलमार्ग सपनामात्र नभएर यथार्थ हो,’ उहाँले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताउनुभयो । सरकारको भूमिकाबारे जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘जनतामा छाएको निराशा र असन्तुष्टिबारे हामी दुवैै अध्यक्ष गम्भीर छौं,’ उहाँले भन्नुभयो–हाम्रो बीचमा यस विषयमा गम्भीर छलफल शुरु भएको छ । जनताले सरकारबाट राखेको अपेक्षा पूरा गर्न सरकारको भूमिका र संचरनाबारे के कसरी जाने भन्ने विषयमा गम्भीरढंगले छलफल भइरहेको छ । हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुनेछ ।
पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा अध्यक्ष दाहालले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताउनुभयो ।
देशमा विगतको संरचना नरहेको र नयाँ संघीय, समानुपातिक र समावेशी राज्य संरचना निर्माण भएको परिवेशमा पूर्णकार्यान्वयनमा आउन समय लाग्ने स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच संघर्ष चर्किने बताउँदै स्थानीय तहहरुमा केही समस्या देखिए पनि कैयन सकारात्मक पक्षसमेत रहेको बताउनुभयो ।

मकवानपुरको मनहरीमा पुल बनाउन आफूहरु तयार रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले ऐतिहासिक जिल्लाका रुपमा मकवानपुरलाई आफू र पार्टीले लिएको भन्दै यातायात सुबिधा तथा अन्य आउजाउका हिसाबले मकवानपुरको छुट्टै महत्व रहेको सुनाउनुभयो । ‘हामीले मकवानपुरलाई समुन्नत हिसाबले विकास गर्ने कुरा सोचेका छौं,’ प्रचण्डले भन्नुभयो ।
मनहरी गाउँपालिकाभित्र रहेका राप्ती नदी तरेर जानुपर्ने गाउँमा छिर्न पक्की पुलका लागि आफूले पहल गर्नै उहाँले बताउनुभयो । ‘सरकार र पार्टीले ५ वर्षमा १ हजार पक्की पुल बनाउने सोचेको छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो–गाउँका उत्पादनले बजार पाउने गरी व्यवस्था मिलाउन २÷४ वटा पक्की पुल यही गाउँपालिकामा निर्माण गर्न सकिनेछ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबै मिलेरमात्र मुलुक सम्बृद्ध बन्ने भएकोले यसमा सरकारको काममा सहयोग गर्न आग्रह गर्नुभयो । विकासका काममा प्रदेश सरकार सहयोगका लागि प्रतिवद्ध रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
आश्रममा आयुर्वेद अस्पताल सञ्चालन गर्ने योजना छ । उक्त क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रका रुपमा विकास गरिनेछ । ५ बिगाह २ कठ्ठा क्षेत्रफलमा फैलिएको आश्रममा जडिबुटी उद्यान, चाणक्य हल स्थापना गरिएको छ ।
आश्रमले वातावरणमा शुद्धता कायम राख्दै मानवजीवनलाई सुन्दर बनाउने अभियानमा आश्रमले वनस्पतिको होमादि कर्म गर्दै आएको आश्रम संरक्षक डा. सीताराम खनालले जानकारी दिनुभयो ।
तत्कालीन जिल्ला विकास समिति, गाउँपालिका, पर्यटन बोर्डलगायतको सहयोगमा स्थापना भएको आश्रमलाई ऋग्वेदमा विद्यावारिधि गरेका डा. खनालको अगुवाईमा संरक्षण गरिएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आश्रमले निकट भविष्यमा वनस्पति उपचार केन्द्रका लागि वनस्पती, एलोपेथिक र आयुर्वेद औषधी उद्योग सञ्चालन गर्ने बताउनुभयो । यसका लागि गाउँपालिकामा गुरुयोजना तयार भइसकेको उप्रेतीले बताउनुभयो । ५ सयदेखि १ हजारसम्मका बिरामीहरुलाई उपचार गर्नसक्ने वनस्पति अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराइयो ।
वनस्पति अस्पतालमा गरिब, असहायले उपचार पाउने आश्रमले बताएको छ । बनजंगलमा रहेका विभिन्न वनस्पतिबाट औषधी बनाउन सुरु गरिसकेको बताउँदै आश्रमले छिटै वनस्पतिबाट उपचार गराउन सक्ने अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको बताइएको छ ।