ऐन संशोधन गर्न माग गर्दै पत्रकारद्धारा ज्ञापन पत्र पेश

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेस मैत्री बनाउन सरकारसंग माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय, भक्तपुर मार्फत नेपाल सरकार र मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधान अनुसार सञ्चार माध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा संचारकर्मी माथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गर्नुभयो ।

 

उहाँले ऐनका कुनै पनि दफामा सञ्चार माध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा यो ऐनका प्रावधानहरु लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चार माध्यम सम्बन्धी छुट्टै ऐनहरुमा समेत यस विषयमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चार माध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था देखिएको ठहर गरेको छ । तसर्थ ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन÷प्रसारण गर्न बाधा हुन सक्ने भएकाले संशोधनमा माग गरिएको उहाँले बताउनुभयो ।

सञ्चार माध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु नहुने बताउँदै उहाँले लेखेर हुने गल्तीलाई देवानी कसुरमा राख्नुपर्ने माग गर्नुभयो । शाखा अन्तर्गत रहेका सहसचिब सुन्दर शिल्पकार,कोषाध्यक्ष मोहन बल्ल,पत्रकार, पार्सद, उपत्यकाका सचिव अमर भुजु, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष पेशल आचार्य, रफत क्लबका अध्यक्ष शुसिलबन्धु थापा लगायतको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण भट्टले ज्ञापन पत्र आजै सरकारसम्म पुर्याउँने प्रतिबद्धता व्यक्त गर्नुभयो ।