बालविवाह अझै रोकिएनः ३ वर्षमा २६ बालिका लगनगाँठोमा

0
Shares

हेटौंडा ।
मनहरी गाउँपालिका–८ का १५ वर्षीय चन्द्र लामा (नाम परिवर्तन) र गाउँकै १४ वर्षीया जुनु लामा (नाम परिवर्तन) ले सहमतिमा विवाह गर्ने प्रयास गरे । तर, सफल भएनन् ।

हेटौंडा पदमपोखरीकी १७ वर्षीया अञ्जु क्षेत्री (नाम परिवर्तन) र १६ वर्षीय बिमल थापा (नाम परिवर्तन) तीन वर्षदेखि पति÷पत्नी जसरी बस्दै आएका थिए । कसैको सूचनाका आधारमा सिविन नेपाल मकवानपुरसम्म यो कुरा पुग्यो । त्यसैले त्यो ‘विवाह’ पनि सफल हुन सकेन । यसले मकवानपुरमा हाल पनि बालविवाह हुने क्रम नरोकिएको संकेत गरेको छ ।
भदौ १ गतेबाट लागु भएको मुलुकी संहितामा बालविवाह स्वतः खारेज गरिएको छ । तर पनि बालविवाह रोकिएको छैन । सिविन नेपाल मकवानपुरका अनुसार ऐन लागुपछि पनि २ वटा बालविवाहविरुद्ध उजुरी परेको छ । ऐन लागु भएपश्चात् पनि यस्ता कार्य भइरहनु जनचेतना अभाव रहेको सिविन नेपाल मकवानपुर प्रमुख झवीन्द्र ज्ञवालीले बताउनुभयो ।
बुधबार सम्पन्न ‘मानव बेचबिखन र यसको अवस्था’ विषयक पत्रकार महिलासँगको अन्तक्र्रियामा प्रस्तुत कार्यपत्रमा जिल्लामा अझ बालविवाह हुने क्रम नरोकिएको देखाइएको छ । समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारीलगायत कारण बालविवाह हुने क्रम जारी रहेको जनाइएको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहालले सन् २०१६ देखि २०१८ अगष्टसम्म सिविन नेपालको तथ्यांकमा मकवानपुरमा १० वर्षमाथिका र १७ वर्षमुनिका ३३ जनाले बालविवाह गरेका छन्, जसमा बालिका २६ र सात बालक रहेको बताउनुभयो ।
सिविन नेपाल प्रमुख ज्ञवालीका अनुसार बालविवाह गर्नाले शिक्षाआर्जनको अवसरबाट बञ्चित भएर जीवनभर पछाडि पर्न बाध्य हुनेछन् । उनले भन्नुभयो–वालविवाहलाई परम्परागत्रुपमा लिनु, मोबाइल फोन, सामाजिक सञ्जाललाई बालबालिकाले प्रयोग गर्दा पनि वालविवाहको घटना रोकिन नसकेको हो ।
समाजमा रहेका विभिन्न जिम्मेवार निकायले कहिलेसम्म वालविवाह अन्त्य गर्ने हो भनेर रणनीति बनाएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ । बालविवाह गरेर के क्षति भयो र नगरेर के फाइदा भयो भन्नेबारे गाउँमा प्रशिक्षण दिनुपर्ने ज्ञवालीले बताउनुभयो । गाउँगाउँमा वालविवाह गरे पनि प्रहरीसमक्ष उजुरी नआउने र कोही कसैले उजुरी ग¥यो भने विवाह गर्ने जोडी र बाबु आमासमेत सामाजिकरुपमा वहिष्कृत हुने डरले पनि यस्ता घटना बाहिर आउन नसकेको ज्ञवालीको भनाइ छ ।
मानव बेचबिखनविरुद्व दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा आयोजित छलफलमा बालिका, किशोरी तथा महिलाका सवालमा पत्रकार महिलाको भूमिका, समस्या, चुनौती र सकारात्मक पक्षका विषयमा छलफल भएको थियो ।