पश्चिम क्षेत्रमा फोन सेवा प्राप्त गर्न अझै ७ महिना लाग्ने

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा पश्च्मि क्षेत्रमा चौँबिसै घण्टा फोन सेवा प्राप्त गर्न अझै ५÷७ महिना लाग्ने भएको छ । विशेष गरेर पश्चिम सल्यानका स्थानीय तहहरूमा नेपाल टेलिकमको फोन सेवामा खराबी देखिएको छ । वन्गाड कुपिण्डे नगरपालिकामा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवाको टावरमा विद्युत नहुँदा सेवाग्राहीले केहि घण्टा मात्रै सेवा उपभोग गर्न पाउने अवस्था छ । नेपाल टेलिकम नेपालगञ्ज कार्यालयले टावर भएको स्थानसम्म विद्युतीकरण नहुन्जेलसम्म वा सौर्य उर्जाको क्षमता नबढाउँदासम्म समस्या कायमै रहने जनाएको हो ।

वन्गाड कुपिण्डे नगरपालिकाको वडा नम्बर चार तारूपारेमा रहेको टावरमा अहिले समस्या छ । उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउँपालिका सहित अन्य स्थानका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन् । टेलिकमका नेपालगञ्ज स्थित इन्जीनियर सुसिम पोख्रेलले भने, ‘टावरसम्म विद्युत नपुग्दा चौँविसै घण्टा मोवाइलमा टावर नहुने समस्या सेवाग्राहीले भोगीरहनुभएको छ । अब हामीले सोलार सेट थप गर्ने योजनामा छौँ । तर पाँच सात महिना लाग्ने देखिन्छ ।’ २०६६ सालमा निर्माण भएको उक्त टावर अहिलेसम्म सोलारको भरमा चलिरहेको छ । टावर संचालन गर्न ६५ वाटको सोलार रहेको छ । निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १० देखि १२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ ।

टेलिकम कार्यालयले वर्षायामको समय भएकाले पनि यस्तो समस्या आएको जनाएको छ । इन्जीनिजयर पोख्रेलले भने, ‘हिजोआज वर्षायाम भएकाले घाम नलाग्दा सोलारको व्याट्रि चार्ज हुन पाउँदैन । यद्यपि मौसममा सुधार हुने वित्तिकै सोलारले काम गर्न थाल्छ र मोबाइल टावरले पनि ।’ अहिले दिउँसोको समयमा केहि घण्टा बाहेक फोनले काम नगर्ने समस्याले विभिन्न कार्यालय, व्यापारी र आम सेवाग्राहीले दुःख पाउँदै आएका छन् । तारूपरे सहित बनगाड कुपिण्डे नगरपालिका–५ लाटुगैरेमा रहेको टावर, बनगाड कुपिण्डे नगरपालिका–११ माझकाडामा रहेको टावर, छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिका गुमिचुलामा रहेको टावर सहित जम्मा ४ वटा टावर छन् । यी सबै टावर सोलारबाट संचालन हुँदै आइरहेका छन् ।

सेवाग्राहीले भने वर्षाैँदेखि आफूहरू भरपर्दाे फोन सेवाबाट वञ्चीत भएको भन्दै चौँविसै घण्टा मोबाइलमा टावर आउने व्यवस्था मिलाउन टेलिकम, स्थानीय सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् । सबै क्षेत्रमा विद्युत विस्तार गर्नका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने भन्दै स्थानीयहरूले आउनेजाने नेटवर्कले हैरानी व्यहोर्नुपरेको गुनासो गरेका छन् ।