पौडी खेल्न जाँदा पोखरीमा डुबेर दुई बालकको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिका वडा नं. २४ रामगढवा स्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगढवा निवासी पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेल र धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो । बुधबार बिहान रामगढवा निवासी सुकेश पटेलको पोखरीमा शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक कुमार मैनालीले बताए । वीरगन्जको राधेमाईमा रहेको साउथ जोन स्कुलमा अध्ययनरत नितेश र राम सुरत मावि रामगढवामा अध्ययनरत सुदर्शन पटेल मंगलवार साझ देखी दुबै जना घरबाट निस्केको र अबेर रातिसम्म घर नपुगेपछि परिवारका सदस्यले खोजी शुरु गरेका थिए ।

बुधवार विहानै स्थानीयले पोखरीमा दुबै बालकको शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेर शवलाई पोष्टमार्टमकालागि नारायणी उप–क्षेत्रीय अस्पतालमा पुर्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख रेवती ढकालले बताए । उनीहरु पोखरीमा पौडी खेल्नेक्रममा डुबेको प्रहरीको आशंका छ ।