रसुवागढी नाकामा यातायात संचालन

0
Shares

रसुवा ।
चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी नाकामा मंगलबारदेखि सवारी साधन सञ्चालन भएको छ ।
नाका जोड्ने धुन्चे रसुवागढी सडक खण्डको मर्मत गरेसँगै नाकामा साना ठुला सवारी साधनको सञ्चालन सुरु भएको हो । बाढी र पहिरोको कारण एक महिनासम्म अवरुद्ध भएको नाका आजदेखि सञ्चालनमा आएपछि सीमामा व्यापारी तथा व्यावसायीको चाप बढेको छ । धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर कच्ची सडकको एक स्थानमा पहिरो र तीन स्थानमा बाढीले क्षति गरेको थियो ।
गत साउन ११ गते बाढीले घट्टेखोलामा रहेको पुलमा क्षति गरेपछि सवारी आवागमनमा रोक लगाइएको थियो । सडक सुचारु भएसँगै केही कन्टेनर चीनको केरूङमा गएका छन् । ‘साँझबाट सवारी सञ्चालन भएका कारण आज सवारी सञ्चालन कम भयो, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने, बुधबार बिहानबाट सवारी सञ्चालनको चाप बढ्छ ।’ चीनको केरूङमा करिव डेड सय कन्टेनर सामग्री लोड गरेर बसेका छन् । ‘केरुङमा २० वटा गाडी खाली गाडी छ, व्यापारी पुरुषोत्तम पौडेलले भने, गाडीको सङ्ख्या कम भएका कारण सामग्री लोड गर्न पाइएको छैन् ।’

रेडिमेट सामग्री बोकेका गाडी रसुवागढी पारी चीनतर्फ रोकिएका उनको भनाई छ । सीमा नजिकै रहेको उक्त पुलमा क्षति गरेपछि टिमुरेसम्म भरियालाई सामग्री बोकाउन थालिएको थियो । त्यसको केही समयपछि खोपाङभीर र त्रिशुली खोलाको सडकमा क्षति भएपछि सवारी सञ्चालन रोकिएको थियो । करिव २५ दिनसम्म राजश्व सङ्कलन नहुँदा करोडौँ घाटा हुन पुगेको थियो । सडक सुचारु गर्नका लागि डिभिजन सडक कार्यालय, नेपाली सेनाको मैलुङ स्याफ्रुबेँसी निर्माण कार्यदल, हेटौडाबाट आएको नेपाली सेनाको टोली, कालिजंग गण र रसुवागढी जलविद्युत आयोजनाको संयुक्त प्रयासमा बाटो सुचारु गर्न सफल भएको हो । यातायात संचालनमा आएसँगै व्यापारीहरु खुुसी भएका छन ।