नगरको निर्णयप्रति आपत्ति, व्यवसायीलाई रोक्ने नीति लाद्न खोजियो

0
Shares

हेटौंडा ।
अटो तथा ई–रिक्सा व्यवस्थापन सम्बन्धमा स्वरोजगार व्यवसायी तथा श्रमजीवी व्यवसायीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संयुक्त अटो तथा ईरिक्सा स्वरोजगार व्यवसायी समिति हेटौंडाले ध्यानाकर्षणपत्र सर्वजनिक गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाले पिपलबोटबाट दक्षिण बुद्धचोक, सीमाचोकबाट उत्तर बुद्धचोक, ओम भवनबाट पश्चिम बुद्धचोक र यति ड्रग हाउसबाट पूर्वतर्फ बुद्धचोकसम्म अटो तथा ईरिक्सा प्रवेश निषेध गर्ने बताएको थियो ।

विशेषगरी बुद्धचोक एरियामा हुने ट्राफिक जाम अटो तथा ईरिक्साकै कारण जाम हुने गरेको भन्ने आरोप लगाइएकोप्रति टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, नेपाल अटो तथा ईरिक्सा स्वरोजगार व्यवसायी मजदुर युनियन, नेपाल अटो ईरिक्सा व्यवसायी संघ, अखिल नेपाल विद्युतीय अटो तथा रिक्सा श्रमिक संघ, अटो यातायात सेवा समिति, मित्रभाव अटो तथा यातायात कम्पनी प्रालि, आवर ब्राइट फ्युचर अटो यातायात प्रालि र भुटनदेवी मल्टिपर्पाेज अटो यातायात प्रालि तथा अटो तथा ईरिक्सा स्वरोजगार व्यवसायीले खेद व्यक्त गरेका छन् ।

‘हेटौंडा बजारको मुटुको रुपमा रहेको बुद्धचोकमा विगत दिनहरुमा विभिन्न किसिमका सवारीसाधन आवतजावत गर्ने गर्दथे । र, हाल पनि ती सवारीसाधन आवतजावत गरिरहेका छन् । भोलि पनि ती सवारीसाधन आवतजावतमा रोक नलगाइयोस् भन्ने व्यवसायीको माग हो,’ पत्रमा भनिएको छ ।

भदौ १२ गते हेउमनपा कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा विभिन्न संघ÷संस्था र अटो तथा ईरिक्सा व्यवसायी समिति, नगरपालिकाका तर्फबाट प्रतिनिधित्व गर्ने यातायात संयोजक गोकर्ण पराजुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुखसमेतको रोहबरमा बसेको बैठकले हाललाई स्टिकर सम्बन्धि व्यवस्थापन गर्ने र हेउमनपाभित्र सञ्चालनमा आएका अटो तथा ईरिक्सालाई संख्या निर्धारण गर्ने विषयमा सर्वसम्मत् निर्णय भएको र अन्य समस्या समाधान गर्ने निर्णय भएको उनीहरुले बताएका छन् ।

तर, भदौ १९ गते बैठकमा उपस्थित संघसंस्थाका प्रतिनिधि, व्यवसायीलाई कुनै जानकारी नगराएर पुनः अर्को निर्णय गरी व्यवसायीमाथि सवारीसाधन चलाउन रोक लगाउने नीति लाद्न खोजिएको उनीहरुको दाबी छ ।
उक्त निर्णयमाथि मंगलबार संयुक्त अटो तथा ईरिक्सा व्यवसायीको संघर्ष समिति संयोजक भीमप्रसाद गौतमको अध्यक्षतामा हरेक संघका अध्यक्षसहित ९ सदस्यीय टोली बसेर नगरपालिकाले गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

‘हाल बजारमा उत्पन्न भएको समसामायिक समस्यालाई हेउमनपाले समन्वयकारी भूमिका निर्वाह गरी छिटो भन्दा छिटो बैठक बोलाएर सरल तथा पारदर्शीढंगबाट न्यायोचितरुपमा अगाडि बढ्न अपिल गर्दछौं,’ उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।