फेडेरर खेल सकेकोमै खुशी


न्युयोर्क, (एजेन्सी)
रोजर फेडेररले युएस ओपनमा स्तब्ध नतिजा बेहोरे पनि असहज परिस्थितिमा खेल सकिएकोमा खुशी जनाएका छन् ।

चौथो चरणको खेलमा ३७ वर्षीय स्विस खेलाडी विश्व नम्बर ५५ जोन मिलम्यानसँग ६–३, ५–७, ६–७, ६–७ ले पराजित भएका हुन् । उक्त खेल न्युयोर्कको स्थानीय समय राति १ बजे सकिएको थियो । फेडेररले बताए—मैले हावा पाउन सकेको थिएन । मलाई असजिलो महसुस भएको थियो । खेलभरि पसीना बगाइरहनु मात्रै विकल्प थियो । यस्तो अवस्थामा शक्ति सकिन्छ । अर्को दृष्टिले हेर्दा खेल सकिएकोमै मलाई खुशी भएको थियो ।

आर्थर एश स्टेडियमको छाना सन् २०१६ मा निर्माण भएको थियो । सोमबार सो छाना खुल्ला गरिएपनि विश्व नम्बर दुई फेडेररले हावा पाउन नसकेको प्रतिक्रिया दिएका थिए । २० पटकको ग्रान्डस्लाम च्याम्पियनले बताए—मलाई लाग्यो यसले गर्दा युएस ओपनलाई पुरै भिन्न बनाएको छ । लुगा भिजेर शरीरमा टाँसिनाले खेल्न असजिलो भएको थियो । यसले सबै चीज ढिलो ढिलो भएको थियो ।

फेडेरर युएस ओपनमा पहिलो पटक शीर्ष ५० भन्दा बाहिरका खेलाडीसँग पराजित भएका छन् । यसैगरी ब्रीसबेनमा जन्मेका मिलम्यानले पनि चर्को गर्मीले गर्दा आफु जरायो झै भएको महसुस भएको बताए । मिलम्यानको सामना क्वार्टरफाइनलमा नोभाक जोकोभिचसँग हुनेछ ।

उनी जुनमा भएको क्विन्स टेनिस प्रतियोगितामा जोकोभिचसँग सीधा सेटमा हारेका थिए । उनले सर्बियाली खेलाडीलाई पनि हराउन सक्ने विश्वास लिएका छन् । उनले भने—मैले मेरा नायक खेलाडी फेडेररलाई हराए । अब नोभाकलाई पनि हराउन सक्छु कि जस्तो लाग्छ । तर उनी एकदमै अदभुत खेलाडी हुन् ।